अबको १ हप्तामा विदेशीने कामदारले अनलाइनबाटै बीमा गर्न सक्ने, कम्पनीले थप शुल्क लिन नपाउने

४ बर्ष अगाडि

काठमाडौं – वैदेशिक रोजगारमा जाने नेपाली कामदारले गर्नुपर्ने म्यादी जीवन बीमा अनलाइन मार्फत गराउने बिषयमा वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । आइतबार बिभाग र कम्पनी बीच यस्तो सम्झौता भएको हो । 
यो सँगै श्रम स्वीकृतिका लागि बीमा गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्से पहिलो अनलाइन सेवा प्रदायक कम्पनी बनेको छ । यस्तो बीमालाई पुल सिस्टममा लगेपछि अहिले युनियन, नेशनल, सुर्या र सन नेपाल लाइफले यस्तो बीमा गर्दै आएका छन् ।
वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी सम्झौता गरिएको बिभागका महानिर्देशक भिष्म भुषालले जानकारी दिए ।
अब कम्पनीले सम्झौता अनुसारको व्यवस्था गरेपछि वैदेशिक रोजगार म्यादी बीमा विद्युतीय माध्यमबाट जारी गर्न सकिने छ । साथै, बीमाशुल्क, वीमा नवीकरण र सोको भुक्तानी समेत अनलाइन मार्फत नै हुनेछ । अबको एक हप्ताभित्र यो सेवा प्रारम्भ गरिसक्नु पर्ने सम्झौता भएको छ ।
कम्पनीले त्यसरी जारी भएको बीमालेखको जानकारी सोझै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गराउनु पर्नेछ । साथै, कम्पनीको जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्ने छन्, जसअनुसार अब श्रम तथा रोजगार कार्यालयको वरिपरी रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु पर्ने छैन।
उक्त सेवा वापत कम्पनीले सेवाग्राहीबाट कुनै थप शुल्क लिन पाउने छैनन् ।
वैदेशिक रोजगारीमा गएको व्यक्तिले आफू कार्यरत देश वा उक्त देश हेर्ने नेपाली कूटनैतिक नियोगबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्ने वित्तिकै बीमा पोलिसी अनलाइन नवीकरण गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ । बीमित ब्यक्तिले आफूले तिरेको प्रिमियमको रकम अनलाइनबाटै हेर्न सक्ने व्यवस्था पनि गरिने बताइएको छ ।
बिभागले अनलाइन भुक्तानीका लागि स्प्यारो पे र कनेक्ट आइपिएससङ्ग पनि सम्झौता सम्पन्न । जसअनुसार अब बीमा, कल्याणकारी कोष, संस्था नवीकरण लगायतका सबै भुक्तानी अनलाइनबाट गर्ने सकिने बाटो खुलेको छ । 
योसँगै अब विदेशबाट श्रम स्वीकृती नविकरण गर्न सकिने भएको छ । पहिला विदेशमा बीमाशुल्क तिर्ने व्यवस्था नहुँदा यो अन्योलमा भएको छ । अब भने विदेशमा भएका नेपाली कामदारलाई त्यहाँको दुतावासबाट श्रम स्वीकृती नविरकरण गर्ने बाटो खुलेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया