कोशीको बगरमा गोलभेँडा खेती

४ बर्ष अगाडि

काम गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ, सुनसरीको कोशी गाउँपालिका–३ का धर्मेन्द्र विश्वासले । रोजगारी नपाएर दैनिक रुपमा मोटो रकम खर्च गरेर विदेशतर्फ होमिएका युवालाई उनले उक्त लगानीमा स्वदेशमै रोजगारी गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्। 

उनले आफ्नै घर नजीक रहेको पाँच कट्ठा जग्गामा व्यावसायिक गोलभेँडा खेती गरेर अहिले उनी त्यस क्षेत्रका धेरै कृषक र वैदेशिक रोजगारीका लागि खाडीसहितका मुलुक जानेका लागि प्रेरणाको स्रोत बनेका छन् । गोलभेँडा खेती गरेर विश्वास अहिले कोशी गाउँपालिकाभित्रकै नमूना कृषकका रूपमा परिचितसमेत भएका छन्। गाउँपालिकाले केही दिनअगाडि मात्र कृषक विश्वासलाई भारतको राजस्थान भन्ने ठाउँमा कृषक भ्रमणका लागि लगेको थियो । 

सोही क्रममा कृषक विश्वासले त्यहाँका किसानले गरेको गोलभेँडा खेती हेरेर फर्केपछि आफ्नै खाली रहेको पाँच कट्ठा जग्गालाई सदुपयोग गर्दै गोलभेँडा खेती गरे। उनले चाई ताई सिट थाइल्यान्डको करण प्रजातिको गोलभेँडा खेती गरेका छन्। विश्वासले एक कट्ठामा ५०० बिरुवा रोप्नुभएको छ भने पाँच कट्ठामा दुई हजार ५०० बिरुवा रोप्नुभएको छ । एउटा बोटमा २० देखि ३० किलोसम्म गोलभेँडा फल्ने गरेको उनले बताए। 

गोलभेँडाबाट राम्रो आम्दानी हुन थालेको र खेतमा उत्पादित गोलभेँडाले बजारमा राम्रो ठाउँ पाएको उनले जानकारी दिए। पाँच कट्ठा गोलभेँडा खेती गर्नका लागि रु ५० हजारदेखि रु ६० हजारसम्म खर्च लागेको उनले सुनाए। अहिले गरेको गोलभेँडा खेतीबाट मात्र करीब रु सात लाखभन्दा बढी आम्दानी हुने उनको भनाइ छ । शुरुमा गरेको पाँच कट्ठामा राम्रो गोलभेँडा उत्पादन भएपछि अहिले थप पाँच कट्ठा जग्गामा गोलभेँडा खेती गर्ने तयारी गरेको उनले बताए।

खेतमा उत्पादन भएको गोलभेँडा इनरुवा र कोशी गाउँपालिका क्षेत्रमा लाग्ने हाट बजारमा बिक्री हुने गरेको उनले जानकारी दिए। विसं २०६५ भदौ २ गते कोशीबाँध फुट्दा त्यो जग्गा मरुभूमिमा परिणत भएको थियो । जग्गा मरुभूमिमा परिणत भएको जग्गामा गोलभेँडा खेतीले राम्रो आम्दानी र उत्पादन दिन थालेपछि आफूलाई हर्षित बनाएको उनको भनाइ छ । कोसीले बालुवा ल्याएर थुपारेको जग्गामा केही उत्पादन नहुने सोचमा डुबेका विश्वास अहिले खुशीले गद्गद छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया