बाँझो जमीनमा कागती फलाउदै श्रीष

४ बर्ष अगाडि

बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गरेका छन । 

गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गरेका हुन । गाउँमा बाँझो रहेको जमीन खरिद गरेर गत साउनमा एक हजार ५०० कागतीका बिरुवा लगाएको श्रीषले बताएका छन । 

बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी व्यावसायिक कागती खेतीसँगै बाख्रापालन गर्ने सोचका साथ गत वर्ष मात्रै १२० रोपनी जग्गा खरिद गरेका थिए ।

 “प्रारम्भिक सम्भाव्यता अध्ययनपछि मैले ३६ रोपनी जग्गामा गत वर्ष एक हजार ५०० कागतीका बिरुवा लगाएको छु”, श्रीषले भने, “खाली र झाडी बन्दै गएको जमीनमा कागती खेतीसहित बाख्रापालन गर्न थालेको छु  ।” कागती खेतीका लागि आवश्यक मल उत्पादन गर्नका लागि बाख्रापालनसमेत थालेको श्रीषले बताए । ३० बाख्रा पाल्ने क्षमताको खोर निर्माणमा अहिले क्रियाशील छन। 

जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिद तथा खोर निर्माणका लागि झण्डै रु २३ लाख लगानी गरिसकेको श्रीष बताउछन । तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर दुई वर्षअघि श्रीष कृषि तथा पशु फार्म दर्ता गरेका छन । 

गलकोट बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको श्रीषको भनाइ छ । हजुरबाबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको युवा कृषक श्रीष बताउछन । 

युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान रहेको उनले बताए ।

श्रीषको फार्मलाई कृषि ज्ञान केन्द्र पर्र्वतले रु दुई लाख र गलकोट नगरपालिकाले रु ५० हजार उपलब्ध गराएको गलकोट नगरपालिका–१० का अध्यक्ष डम्मर श्रीषले जानकारी दिएका छन । 

नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको वडाध्यक्ष श्रीषको भनाइ छ ।  

समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण गलकोट नगरपालिकाले गत वर्ष नगरपालिकाभर छ हजार कागतीका बिरुवा अनुदानमा वितरण गरेको गलकोट नगरपालिका कृषि तथा पशु शाखा संयोजक हरिदत्त सुवेदीले जानकारी दिए । 

गलकोटममा मात्रै अहिले पाँचजनाले व्यावसायिकरूपमा कागती खेती थालेको  गलकोट नगरपालिकाले जनाएको छ । 

कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ ।

 कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ । 

गलकोट क्षेत्रमा कागती उत्पादन भएमा बागलुङमा भारतबाट आयातीत गर्नुपर्ने बाध्यतासमेत अन्त्य हुने कृषकहरु बताउँछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया