'मुलुक निर्माणको दशक' घोषणा गर्न माग

६ बर्ष अगाडि

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघले नयाँ सरकारसँग आर्थिक विकासका लागि ‘मुलुक निर्माण दशक’ घोषणा गर्न माग गरेको छ । देशको अर्थतन्त्रलाई माथि उठाउन आगामी वर्षदेखि १० वर्षलाई मुलुक निर्माण दशक घोषणा गर्न महासंघले माग गरेको हो । महासंघले आइतबार पत्रकार सम्मेलन गरी मुलुकको कमजोर अर्थतन्त्रलाई माथि उठाउनका लागि आर्थिक गतिविधिलाई सशक्त रूपमा अगाडी बढाउनुपर्ने भन्दै १२ बुँदे अपेक्षासमेत सार्वजनिक गरेको छ । 
महासंघले ‘मुलुकलाई समृद्धिको मार्गमा लैजान प्रतिबद्ध प्रधानमन्त्री केपी शर्मा ओलीबाट अर्थतन्त्र बलियो बनाउने कार्यक्रम आशा गरिएको’ भन्दै विकासका मुद्दामा नयाँ सरकारसँग काँधमा काँध मिलाएर काम गर्ने प्रतिबद्धतासमेत जनाएको छ । महासंघ अध्यक्ष भवानी राणाले आर्थिक विकासमार्फत मुलुकलाई समृद्ध तुल्याउन निजी क्षेत्र सरकारसँग मिलेर काम गर्न तयार रहेको तर सरकारले पूर्वाधार विकास तथा उद्योगलाई केन्द्रविन्दुमा राखी नयाँ कार्यक्रम ल्याउनुपर्ने बताइन् । उनले मुलुकभित्रको लगानीबाट मात्र आर्थिक समृद्धि सम्भव नहुने भन्दै छिमेकी मुलुक भारत र चीनको लगानी आकर्षित गर्ने नीति अवलम्बन गर्न पनि नयाँ सरकारसँग आग्रह गरेकी छन् । निजी क्षेत्रका अपेक्षा सार्वजनिक गर्ने क्रममा महासंघले दोहारो कर तिर्न नपर्ने सुनिश्चितता गर्न, काम नगर्ने र ढिलासुस्तीको समस्या समाधान गर्न तथा उद्योग व्यवसायसँग जोडिएका पुराना कानुनमा सुधार गर्न पनि माग गरेको छ, कारोबार दैनिकमा खबर छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया