ज्येष्ठ नागरिक र गर्भवतीको स्वास्थ्य परीक्षण घरमै

विहीबार, २३ माघ २०७६, १० : २१

बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक  प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपछि  सेवाग्राहीको आकर्षण बढेको छ । 

बुटवल उपमहानगरका १९ वटै वडामा चिकित्सक र जनस्वास्थ्य अधिकृतले नियमित सेवा प्रदान गरिरहेको छ । 

स्वास्थ्य सेवालाई थप सुदृढ तथा प्रभावकारी बनाइएपछि नगरवासीको आकर्षण बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । 

केन्द्रबाट मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी प्रभावकारी सेवा प्रदान गरिएको उनले बताए ।  आर्थिक वर्ष २०७४÷७५ मा केन्द्रबाट २१ हजार ४७३  र आव २०७५÷७६ मा १० हजारभन्दा धेरैले बहिरङ्ग सेवा  लिएको जनाइएको छ ।

यस्तै स्वास्थ्य संस्था नभएका वडामा वडाक्लिनिक सञ्चालनमा ल्याइएको छ ।  आव २०७४÷७५ मा चार हजार ७०४ ले सेवा लिएकोमा गत आव ०७५÷७६ मा वृद्धि भई नौ हजार ५९० सेवाग्राही पुगेको तथ्याङ्क रहेको छ । 

उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ ।

 ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा शुरु भएको सो कार्यक्रमअन्तर्गत हालसम्म एक हजार ३३२ ज्येष्ठ नागरिकले सेवा लिएका छन् । 

यस्तै पहिलो चरणमा सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ । 

गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण सामग्री सहयोग गरिएको छ ।

 सो कार्यक्रमअन्तर्गत आव २०७५÷७६ मा ७२० लाभान्वित भएका छन् । आव २०७४÷७५ मा ७७० ले मात्र गर्भजाँचको सेवा लिएकोमा आव २०७५÷७६ मा एक हजार ३१३ ले सेवा लिएका छन् । 

सो कार्यक्रमको प्रभावकारिता र सेवा प्राप्त गरेकाको अवस्था बुझ्न उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न पग्ने गरेका छन । 

उनले केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको जानकारी दिए । 

चारपटक गर्भजाँच गर्नेको सङ्ख्या पनि अघिल्लो वर्ष ३९५ रहेकोमा यस वर्ष ३२ प्रतिशतले वृद्धि भई ५२३ पुगिसकेको छ ।

सबै वडालाई पायक पर्ने गरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । 

उनले स्वास्थ्य केन्द्रमा अझ आधुनिक उपकरण र दक्ष जनशक्ति थपेर सेवाप्रवाह प्रभावकारी बनाइने जानकारी दिए ।
 

विहीबार, २३ माघ २०७६, १० : २१

प्रतिक्रिया