माछापालनमा रमाउँदै जनप्रतिनिधि

४ बर्ष अगाडि

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा रु २० लाख बढी आम्दानी गर्दै आएका छन् । उनले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन् । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उनी पहिलो नम्बरमा छन् । उनी  निर्वाचित वडासदस्य हुन् । 


 उनको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, विगेट र पंगासिस जातका माछा पालिएका छन् । वार्षिक रु एक करोड बढी खर्च हुन्छ उनले भने, “तर  रु २० लाख बढी आम्दानी हुँदैन ।” वार्षिकरुपमा ३०० क्विन्टल बढी माछा पोखरीमा उत्पादन हुने गरेको छ ।


उत्पादित माछा स्थानीय बजारसँगै डडेल्धुरालगायतका जिल्लामा खपत हुने गरेको छ । व्यावसायिक माछापालनमा तालिम समेत लिएका उनले सातवर्ष अगाडि व्यवसाय शुरुआत गरेका थिए । 


उनको माछा फार्ममा चार कामदारले रोजगारी पाएका छन् । 


वडाध्यक्ष सुरेन्द्र विष्टले समेत पोखरी निर्माण गरी माछापालनमा संलग्न भएका छन् । पन्ध्र कट्ठा जग्गामा पोखरी निर्माण गरी चार हजार भुरा हालेको उनले जानकारी दिए । 

वडालाई माछा पकेट क्षेत्रमा विकास गर्ने कार्य अगाडि बढाइएको छ । अधिकांश किसान व्यावसायिकरुपमा माछापालनमा सम्लग्न रहेका छन् । नगरपालिकाले पोखरी निर्माण गर्ने किसानलाई प्रतिकट्ठा रु १० हजारका दरले अनुदान दिने व्यवस्था गरेको छ । थोरै मेहनतमा माछापालनबाट गतिलो आम्दानी हुने भएपछि माछापालनमा लागेको स्थानीय किसान देवराज कलौनीले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया