अमेरिका र मेक्सिको बीचको व्यापार वार्ता सहमति नजिक

५ बर्ष अगाडि


वासिङ्टन – उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ । वासिङ्टनमा दुबै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ । 

मेक्सिकोका अर्थसचिव इल्डेफोन्सो गुआजार्डोले आठ घण्टासम्म चलेको छलफल निकै सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिनुभयो । आइतबारको वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी हुनुहुन्थ्यो । 

गुआजार्डोका अनुसार, वार्ता सोमबार बिहानै शुरु हुनेछ । 

वार्तामा द्विपक्षीय विषयमा सहमति जुटाउने तथा नाफ्टाको तेस्रो साझेदार मुलुक क्यानडासँग छलफल गरी नयाँ सम्झौतामा हस्ताक्षर गरिनेछ । 

सचिव गुआजार्डो तथा मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगारेले दुई देशबीचका मुख्य व्यापारिक समस्या सुल्झाउन एक महिनाभन्दा बढीदेखि अमेरिकी व्यापार प्रतिनिधिसँग वार्ता गर्न पटकपटक वासिङ्टनको भ्रमण गरिसक्नुभएको छ । उहाँहरु आगामी अगष्ट महिनाअघि नै सवारी साधनको बजार समेतका विषयमा ठोस निष्कर्षमा पुग्ने प्रयास गरिरहनु भएको छ । 

मेक्सिकोमा जुलाई १ मा भएको राष्ट्रपतीय चुनावले पनि मे महिनाका लागि तोकिएको वार्तामा असर परेको थियो । 

अमेरिका, क्यानडा र मेक्सिको सम्मिलित नाफ्टाका बारेमा राष्ट्रपति ट्रम्पले निरन्तर आलोचना गरिरहनु भएको छ । अमेरिकाका लागि “घातक” रहेको भन्दै ट्रम्पले सम्झौतामा आवश्यक संशोधन नभए नाफ्टाबाट अलग्गिने चेतावनी दिनुभएको छ । 

तर २५ वर्ष पुरानो यस सन्धिका विषयमा नयाँ परामर्श भइरहेको छ, र अमेरिका तथा मेक्सिको यस सम्झौतालाई अद्यावधिक गर्नेमा लगभग सहमति नजिक पुगेका छन् । अमेरिका–मेक्सिको बीचको सवारी साधन उद्योगसम्बन्धी नियममा के कस्तो सहमति हुन्छ भनी पर्खेर बसेको क्यानडालाई पनि वार्तामा आमन्त्रण गर्ने योजना छ । 

अमेरिका र मेक्सिकोका वार्ताकारहरु राष्ट्रपति एनरिक पेना नीटोले डिसेम्बर १ मा सत्ता छाड्नुअगावै सम्झौतामा पुग्न प्रयासरत छन् । मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर निर्वाचित भइसक्नु भएको छ र उहाँले आगामी डिसेम्बर १ तारिखदेखि सत्ता सम्हाल्नु हुनेछ । नयाँ सम्झौतालाई कार्यरुप दिन अमेरिकी संसद कङ्ग्रेसलाई ९० दिनको अग्रीम समय दिनु पर्दछ । 

क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले अमेरिका–मेक्सिकोबीचको वार्ताको प्रगतिबाट उत्साहित भएको र दुवै मुलुकबीचको द्विपक्षीय वार्ता सकिएलगत्तै क्यानडा सहभागी हुने बताउनुभएको छ । 

राष्ट्रपति ट्रम्पले शनिबार बिहान गरेको एक ट्वीटमा वार्ता सहमति नजिक पुगेको बताउनुभएको छ । 

“मेक्सिको सँगको हाम्रो सम्बन्ध अत्यन्त सकारात्मक रुपमा अघि बढेको छ,” ट्रम्पले लेख्नुभएको छ । “मेक्सिकोसँग ठूलो व्यापारिक सम्झौता चाँडै हुँदैछ ।” 

५ बर्ष अगाडि

प्रतिक्रिया