बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित खासकुश्मा र कचनापुर स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ ।
जापान सरकारको सहयोगमा आड्रा र वातावरण तथा ग्रामीण विकास केन्द्र इन्रुडेक द्वारा वडा नं १ मा रहेको खासकुश्मा स्वास्थ्य चौकी र वडा नं २ मा रहेको कचनापुर स्वास्थ्य चौकी भवनको निर्माण तथा नवीकरण गरी उपकरणसहित गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
जिल्लामा सञ्चालित नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाअन्तर्गत ती स्वास्थ्य चौकी मर्मतसम्भार र नवीकरण गरिएको हो ।
नवीकरण गरिएका भवनमा सुरक्षित प्रसूतिकक्ष, सुत्केरी सेवाकक्ष, निर्मलीकरण कर्नर, कर्मचारी आवासकक्ष लगायत बाथरुम, शौचालय, सेप्टिक ट्याङ्क, प्लासेन्टा पिट आदिको समेत निर्माण तथा स्तरोन्नति गरिएको इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले जानकारी दिए ।
उनका अनुसार अत्यावश्यक नवजात शिशु स्याहारका लागि आवश्यक उपकरणको पनि व्यवस्था गरिएको छ ।
नवजात शिशु तथा बाल स्वास्थ्य अवस्थामा सुधार ल्याउन यस परियोजनाले जिल्लाका भेरी अस्पताललगायत ४८ सरकारी स्वास्थ्य संस्थामा नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि उपकरण उपलब्ध गराउने तथा छ स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको योजनामा काम गरिरहेको छ ।
सन् २०१९ मार्चमा शुरु भई फेब्रुअरी २०२२ सम्म सञ्चालन हुने यस परियोजनाबाट बाँकेका पाँच लाख ६१ हजार ४९७ जना लाभान्वित हुने परियोजनाको कूल लागत रु १२ करोड ८६ लाख रहेको आड्रा नेपालका राष्ट्रिय निर्देशक लेटन फ्लेचरले जानकारी दिए ।
“उपकरण तथा भौतिक सुविधासहितको संरचनाबाट विशेषगरी विपन्न वर्ग र समुदायका गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकालाई प्रत्यक्ष लाभ हुनेमा हामी विश्वस्त छौँ”, निर्देशक फ्लेचरले भने, “स्थानीय सरकारको प्राथमिकतामा रहेको स्वास्थ क्षेत्रमा काम गर्ने अवसर प्रदान गरेकामा स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले आड्रा नेपालले सञ्चालन गरेको कार्यक्रमले जनता प्रत्यक्षरूपमा लाभान्वित भएका बताए।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले आड्रा नेपालले निर्माण गरेका स्वास्थ्य संस्थाका भवन संरक्षण र सञ्चालनका लागि आवश्यक बजेट गाउँपालिकाले विनियोजन गर्ने बताए ।
प्रतिक्रिया