अभिनेत्री अदिती लकडाउनका कारण घरमै सीमित

सोमबार, १७ चैत्र २०७६, १७ : ४५

कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले ‘लकडाउन’ गरेपछि अहिले कोही घरभन्दा बाहिर निस्कन पाएका छैनन् । घरमा सुरक्षित रुपमा बसे पनि कोरोनाको त्रास भने उस्तै छ । 
कोरोनाको संक्रमणबाट जोगिन अभिनेत्री अदिती बुढाथोकी पनि केही दिनदेखि घरबाट बाहिर निस्किएकी छैनन् । उनी निकै कम नेपालमा बस्ने गर्छिन् । मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनी अहिले भने काठमाडौंमा छिन् । खासमा उनी फिल्म गर्नका लागि नेपाल आएकी हुन् । तर, उनी नेपाल आएसँगै कोरोनाको त्रासले फिल्मको छायांकन पोस्टपोन्ड भयो ।
 
सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको फिल्ममा उनले गायक नितेशजंग कुवँरसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । फिल्मको चैत पहिलो साता घोषणा गरेर बैशाख पहिलो साताबाट फ्लोरमा जाने तयारी गरिएको थियो । तर, कोरोनाको त्रासले फिल्मको छायांकन पछाडि धकेलिएको छ । अहिले अदिती भारत फर्किने अवस्था पनि छैन । त्यहाँ पनि कोरोनाका कारण ‘लकडाउन’ गरिएको छ ।
 
फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकीले लामो समयपछि नेपाली फिल्म गर्न लागेकी हुन् । तर, फिल्ममा अभिनय गर्नका लागि मुम्बईबाट नेपाल आएकी उनी अहिले कोरोना भाइरसका कारण घरको चार कुनामा खुम्चिएर बस्न बाध्य हुनु परेको छ । 

सोमबार, १७ चैत्र २०७६, १७ : ४५

प्रतिक्रिया