वर्षा राउतले   ‘नाइँ नभन्नू ल ६’ मा अभिनय गर्ने फाइनल

मंगलबार, १८ चैत्र २०७६, १३ : ०२

देशलाई कोरोनाको महामारीबाट जोगाउन सरकारले  ‘लकडाउन’ घोषणा गरेपछि छायांकनरत फिल्म पनि अनिश्चितकालका लागि रोकिएका छन् । त्यस्तै, फ्लोरमा निस्कने तयारीमा रहेका फिल्मको छायांकन समेत पोस्टपोन्ड भएको छ । ‘लकडाउन’ खुलेपछि मात्र रोकिएका फिल्मको छायांकन सुरु हुनेछ ।

यही चैत अन्तिम साताबाट फ्लोरमा निस्कन लागेको फिल्म ‘नाइँ नभन्नू ल ६’ को पनि स्थिति सामान्य नहुँदासम्मका लागि छायांकन रोकिएको छ । यद्यपि, निर्देशक विकासराज आचार्यले फिल्मका लागि कलाकारको छनोट भने लगभग पूरा गरिसकेका छन् । अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतले अभिनय गर्ने निश्चित भैसकेको फिल्ममा तीन अभिनेत्री हुने बताइएको छ । 
 
तीन अभिनेत्रीमध्ये एक अभिनेत्रीको नाम फिल्मीखबरलाई प्राप्त भएको छ । ‘नाइँ नभन्नू ल ६’ मा अभिनेत्री वर्षा राउतले अभिनय गर्ने फाइनल भैसकेको छ । उनले यही फिल्मको चौथो श्रृंखलाबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनी दोस्रो पटक ‘नाइँ नभन्नू ल’ सिरिजसँग जोडिन लागेकी हुन् । यद्यपि, उनी फिल्ममा अनुबन्ध भएको जानकारी भने निर्माण टिमले दिएको छैन ।
 
यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि करीब ७ महिना अभिनेत्री वर्षा राउतले कुनै फिल्म साइन गरेकी थिइनन् । राम्रो स्क्रिप्टको पखाईमा रहेका कारण फिल्म साइन गर्न नहतारिएको उनको भनाई थियो । तर, मिडियामा विवाहपछि फिल्म पाउन छाडेको भन्ने गसिपहरु आउन थालेपछि उनले गएको दुई महिना अगाडि एक हप्ताको अन्तरमा दुई फिल्म साइन गरिन् ।
 
ती दुई फिल्म थिए, ‘२ नम्बरी’ र ‘के घर के डेरा’ । ‘लकडाउन’ हुनुभन्दा अगाडिसम्म अभिनेत्री वर्षा ‘२ नम्बरी’ को छायांकनमा व्यस्त थिइन् । अब स्थिति सामान्य नभएसम्म यो फिल्मको छायांकन पुनः सुरु हुनेछैन ।

मंगलबार, १८ चैत्र २०७६, १३ : ०२

प्रतिक्रिया