‘लकडाउन’ का कारण घरभित्रै नजरबन्द हुनुपरेपछि सेलिब्रेटीदेखि आम सर्वसाधारणसम्म युट्युबमा फिल्म वा अन्य भिडियो सामाग्री हेरेर दिन काटिरहेका छन् । प्रायः नेपालको युट्युब ट्रेन्डिङ साउथ फिल्म वा भाइरल कन्टेन्टले कब्जाले गर्ने गर्दथे ।
तर, यसपटक केही दिन ट्रेन्डिङको शिर्ष स्थानमा रहेको साउथ फिल्म ‘दिलजला आशिकी’ लाई तेस्रो नम्बरमा झारेर पहिलो नम्बरमा नेपाली फिल्म ‘पोइ पर्यो काले’ र दोस्रो नम्बरमा ‘पञ्चेबाजा’ उक्लिएका छन् । रोचक कुरा चाहिँ यी दुवै फिल्ममा अभिनेता सौगात मल्लको अभिनय छ । ‘पोइ पर्यो काले’ मा काले केटाको भूमिकामा रहेका उनी ‘पञ्चेबाजा’ मा रंगकर्मी बनेका छन् ।
एकै दिन युट्युबमा रिलिज भएका सौगातका यी दुई फिल्ममध्ये भ्यूजमा भने ‘पोइ पर्यो काले’ लाखौंले अगाडि छ । यो फिल्मलाई यो समाचार तयार पार्दासम्म ४२लाखले हेरिसकेका छन् भने ९७ हजार लाइक्स र सात हजार ५ सय भन्दा बढी कमेन्ट प्राप्त छन् । त्यस्तै, युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा विराजमान ‘पञ्चेबाजा’ मा १६ लाख पुगनपुग भ्यूज पुगेको छ ।
सम्भवतः सौगात अभिनीत दुई फिल्म एकसाथ ट्रेन्डिङमा उक्लिएको यो पहिलो पटक हो । दुवै फिल्मको कमेन्ट बक्समा उनको अभिनयको दर्शकले प्रशंसा गरेका छन् । शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्यो काले’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको पनि अभिनय छ भने धनश्याम लामिछाने निर्देशित ‘पञ्चेबाजा’ मा कर्मा, जश्मिन श्रेष्ठ, बुद्धि तामाङलगायतको अभिनय छ ।
प्रतिक्रिया