‘आमा’ र ‘सेन्टी भाइरस ' यस वर्षको अन्तिम फिल्म बने

शुक्रबार, २१ चैत्र २०७६, २१ : ३८

‘लकडाउन’ को घोषणा गर्नुभन्दा अगाडि नै सरकारले बैशाख १८ गतेसम्मका लागि देशभरका सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । फिल्म हेर्न हलमा दर्शकको भीडभाड रहने भएकाले भाइरसको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले सिनेमा हल बन्द गर्ने घोषणा गरेको थियो । हल बन्द हुँदा नेपाली फिल्म क्षेत्रलाई करोडौंको नोकसान भएको छ ।
 
सिनेमा हल बन्द भएपछि चैतदेखि बैशाखसम्म प्रदर्शनमा आउने तयारीमा रहेका आधा दर्जन फिल्मको रिलिज स्थगित भयो । कोरोनाको प्रभाव सामान्य रहँदा प्रदर्शनमा आएका थिए, ‘आमा’ र ‘सेन्टी भाइरस’ । प्रदर्शनको दुई हप्तासम्म यी दुई फिल्मको व्यापारमा कोरोनाले खासै ठूलो असर गरेन । तर, तेस्रो हप्ताबाट यो भाइरसको डरले हलमा दर्शक नै आउन पूर्ण रुपमा छाडे ।
 

 तेस्रो हप्ताबाट ‘सेन्टी भाइरस’ प्रायः हलबाट उत्रिसकेको थियो । इनिसियल व्यापार आक्रामक गरे पनि कमजोर ‘वर्ड अफ माउथ’ का कारण फिल्म दोस्रो हप्ताबाट बक्सअफिसमा कमजोर बनेको थियो । यसको फाइदा ‘आमा’ ले उठायो । किनकि, यो फिल्मको माउथ पब्लिसिटी तगडा थियो । दोस्रो हप्ताबाट हलमा दर्शकको फ्लो बढ्दा निर्माताको अनुहारमा खुसी छाउन थालेको थियो ।
 
तर, ‘आमा’ रिलिजको तेस्रो हप्ताबाट देशमा कोरोनाको त्रास कुन हदसम्म फैलियो भने हलमा दर्शकको नाकमुखै देखिएन । हलमा दर्शक आउन छाडेपछि निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै फिल्मको लगानी सुरक्षित भएको जानकारी गराउँदै दर्शकलाई धन्यवाद प्रकट गर्‍यो । सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेको अघिल्लो दिनसम्म फिल्म हलमा प्रदर्शनरत थियो ।
 
सिनेमा हल बन्द र ‘लकडाउन’ नभएको भए यस वर्षका अन्तिम ‘प्रेमगीत ३’, ‘चपली हाइट ३’ र ‘माइकल अधिकारी’ हुने थिए । यी फिल्म चैत २८ मा प्रदर्शन हुँदै थिए । तर, कोरोनाका कारण सिनेमा हल बन्द भएपछि यी तीनै फिल्मको रिलिज रोकियो । ‘आमा’ र ‘सेन्टी भाइरस’ पछि प्रदर्शन हुन लागेका ‘म यस्तो गीत गाउँछु २, नीरफूल, लक्का जवान’ को रिलिज पनि स्थगित भए ।
 
फागुन ९ गतेपछि कोरोनाको त्रासले नयाँ नेपाली फिल्म प्रदर्शनमा नआएपछि यस वर्षका अन्तिम फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ बनेका छन् । रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’ ले घरेलु बक्सअफिस, ओभरसिज र डिजिटल राइट्सबाट लगानी सुरक्षित गरेको छ भने ठूलो बजेटमा निर्माण नभएका कारण दीपेन्द्रे के खनाल निर्देशित ‘आमा’ ले हलकै कमाईबाट लगानी उठाएको छ  ।

शुक्रबार, २१ चैत्र २०७६, २१ : ३८

प्रतिक्रिया