कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि आम सर्वसाधारण जस्तै सेलिब्रेटीहरु पनि घरभित्रै नजरबन्द हुनुपरेको छ । फुर्सदसँग विरलै घरमा बस्न पाएका कलाकारहरु अहिले परिवारसँग समय विताइरहेका छन् । सामाजिक सञ्जालमार्फत् उनीहरुले आफ्ना शुभचिन्तकहरुलाई सावधानीपूर्वक घरमै सुरक्षित रुपमा बस्न पनि अपिल गरिरहेका छन् ।
वर्षा सिवाकाटीको आज सोमवार जन्मदिन परेको छ । २७औं वर्षमा प्रवेश गरेकी उनलाई सामाजिक सञ्जालको माध्यमबाट शुभचिन्तक तथा फिल्मकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । ‘नाईं नभन्नू ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले अहिलेसम्म २ दर्जनको आसपासमा फिल्ममा अभिनय गरिसकेकी छन् ।
उनी पछिल्लो पटक फिल्म ‘वीर विक्रम २’ मा देखिएकी थिइन् । यो फिल्मबाट उनलाई हिटको सुख प्राप्त हुनेमा ठूलो आश थियो । तर, कमजोर धरातलमा टेकेर निर्माण भएको फिल्मलाई दर्शकले रुचाएनन् । एकपछि अर्को फिल्म बक्सअफिसमा असफल भइरहे पनि वर्षाको करिअरमा भने कुनै असर परेको छैन । उनलाई फिल्ममा खेलाउन चाहने निर्माता अझै घटेका छैनन् ।
यही चैत २१ गते उनी अभिनीत नयाँ फिल्म ‘लक्का जवान’ प्रदर्शन हुँदै थियो । तर, सरकारले ‘लकडाउन’ घोषणा गरेपछि फिल्म अर्को वर्षका लागि सरेको छ । ‘लकडाउन’ हुनुभन्दा अगाडिसम्म उनी फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । यो फिल्मपछि उनले कलाकार तथा निर्देशक रमेश बुढाथोकीले निर्देशन गर्ने फिल्म ‘सुदूर’ का लागि समय छुट्याउनेछिन् ।
‘परदेशी २’ भन्दा अगाडि उनले सिक्किम पुगेर अभिनेता पुष्प खड्कासँग फिल्म ‘चालबाज’ को छायांकन भ्याएकी थिइन् । उनको हातमा निर्देशक मिलन चाम्सको ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ पनि छ । फिल्मबाट फुर्सद मिलेको समयमा उनी म्यूजिक भिडियो पनि गर्न भ्याउँछिन् ।
प्रतिक्रिया