कोरोना भाइरस विश्वभर फैलिएको छ । यो भाइरसको संक्रमण फैलिन नदिन विभिन्न देशहरुले लकडाउन गरेका छन् । भारतमा पनि २१ दिनका लागि लकडाउन गरिएको छ । यो अवस्थामा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्न बलिउड कलाकारहरु अगाडि सरिरहेका छन् । अभिनेता अक्षय कुमारले गएको हप्ता प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरेका थिए ।
यसबीच, उनले बीएमसीलाई तीन करोड रुपैयाँ डोनेट गरेका छन् । पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् । अक्षयले पैसा सहयोग गरेको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामार्फत् दिएका छन् । उनले लेखेका छन्, ‘पीएम केयर फन्डमा २५ करोड डोनेट गरेपछि अक्षय कुमारले बीएमसीलाई तीन करोड दिएका छन् ।’
अक्षयले सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसप्रति जागरुकता पनि फैलाइरहेका छन् । कोरोनाबाट बच्न घरभित्रै विशेष सावधानी अपनाएर बस्न उनको अपिल छ । उनले सोसल मिडियाबाट मुम्बई पुलिसलाई पनि धन्यवाद दिएका छन् । कोरोना भाइरसको त्रासका कारण आफू अभिनीत फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन स्थगित भएपछि अक्षय अहिले घरभित्रै सीमित छन् ।
प्रतिक्रिया