पोखरा महानगरपालिकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री पिपिई सहयोग गरेको छ ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई आज १०० थान पिपिई हस्तान्तरण गरेका हुन ।
प्रमुख जिसीले गण्डकी प्रदेशकै नेतृत्वदायी अस्पतालका रुपमा रहेकाले सुरक्षित बनाउन महानगरले सहयोग गरेको जानकारी दिए ।
उनले अस्पताल सुरक्षित नभएसम्म बिरामी सुरक्षित नहुने भन्दै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा पहिलो प्राथमिकता भएको बताए।
महानगरप्रमुख जिसीले भने, “ महामारीलाई जित्नेतर्फ लागौँ अरु कुरा पछि गर्दै गरौँला ।”
प्रतिष्ठानका उपकुलपति डा बृद्धिबहादुर थापाले महानगरले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमणको उपचारमा सहज हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्यकर्मी अहिलेको महामारीका अग्रपङ्क्तिका सिपाही भएकाले उनीहरुको मनोबल उच्च बनाउने गरी सबैले सहयोग गर्नुपर्नेमा थापाले जोड दिए ।
यसअघि महानगरले उक्त अस्पताललाई दुई वटा स्प्रे मेसिन प्रदान गरेको थियो ।
प्रतिक्रिया