काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा गएको छ ।
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट तथा पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका अन्य दुई रिट आज न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको थियो ।
लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण कँडेलका अनुसार तीनै रिटमाथि आज हेर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा सुनुवाइ भएको थियो । तर पूर्वडीआईजी जोशीको मुद्दा न्यायाधीश सुवेदीले पहिले नै हेरेकाले उनले मुद्दा हेरेनन् । जोशीको मुद्दा हेर्न नमिल्ने भएपछि एकै फाँटमा रहेका तीनवटै रिट हेर्न नमिल्नेमा पठाइएको छ ।
वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।
प्रतिक्रिया