अभिनेता भट्ट : "मैले अहिलेसम्म आर्थिक सहयोगको कुनै घोषणा गरेको छैन "

शुक्रबार, ०५ बैशाख २०७७, १३ : ४६

कोरोनाविरुद्ध लड्नका लागि नेपालका ठूला व्यापारिक घरानाहरुले सरकारले खडा गरेको राहत कोषमा आर्थिक सहयोग गरिरहेका छन् । नेपाली कलाकारहरु पनि  रोजीरोटी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या भएका प्राविधिकहरुलाई सहयोग गर्न अगाडि सरेका छन् । 
 
नेपाली फिल्मका एक्सन स्टार विराज भट्टले कोरोना भाइरस रोकथामका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको खबरले केही दिनयता सामाजिक सञ्जाल खुबै तातेको छ । तर, यो कुराको जानकारी विराज स्वयंले नदिएका कारण धेरैलाई विश्वास लागेको थिएन । यसबीच, उनले फिल्मीखबरसँग फोनवार्तामा आफूले सहयोग घोषणा गरेको कुरा हल्ला मात्र रहेको बताए । 
 
लकडाउनपछि परिवारसँग भक्तपुरको बालकोटस्थित रोज भिलेजमा बस्दै आएका अभिनेता भट्टले भने ‘मैले अहिलेसम्म आर्थिक सहयोगको कुनै घोषणा गरेको छैन । सामाजिक सञ्जालमा मैले ८ लाख दिन लागेको भन्ने हल्ला फैलिएको रहेछ । त्यो हल्ला कसले फैलायो मलाई थाहा भएन । तर, मैले कोरोना रोकथामका लागि अहिलेसम्म आर्थिक सहयोग दिने घोषणा गरेको छैन ।’
 
उनले कोरोनाबाट बच्न लकडाउनको पालन गर्न र अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर ननिस्कन पनि आग्रह गरे । ‘यो भाइरसले धनी र गरिब कसैलाई पनि चिन्दैन । सरकारले हाम्रै हितका लागि लकडाउन गरेको हो । त्यसैले घरभित्रै बसेर कोरोनाविरुद्धको लडाईंमा सहभागी हौं,’ अभिनेता भट्टले भने । उनी अभिनीत फिल्म ‘साङ्लो’ गत वर्ष प्रदर्शनमा आएको थियो ।

शुक्रबार, ०५ बैशाख २०७७, १३ : ४६

प्रतिक्रिया