पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त

५ बर्ष अगाडि

भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो । 

कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उहाँकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उहाँ पाकिस्तान फर्कनुभएको थियो । 

शरिफ र उहाँकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पु¥याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ । 

उनीहरु दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताउनुभयो । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् । 

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उहाँको उपचार भइरहेको थियो । 

नवाज शरिफ विरुद्ध तीव्र प्रचार गरेर चर्चामा आउनुभएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गर्नुभएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया