कोरोना विशेष अस्पतालमा सामान चोरी भएको भिडियो झुट्टा, अस्पतालमै चरम राजनीति भएको ठहर

मंगलबार, १६ बैशाख २०७७, १८ : ३२

भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालबाट कुनै सामान चोरी नभएको कोरोना विशेष कार्यदलले जनाएको छ ।

अस्पतालमा रहेका सबै सामान रुजु गर्दा सबै सामान सहि सलामत फेला परेको र चोरी नभएको कार्यदलले जनाएको हो । 

सोमबारमात्रै कोरोना विशेष अस्पताबाट सामान चोरी गरेको भन्दै सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । 

कार्यदलका अनुसार स्टोरमा ७० प्रतिशत अस्पतालका र ३० प्रतिशत सामग्री रहेका थिए । 

शुरुमा कोरोना विशेष अस्पतालको स्थापना, सञ्चालन र व्यवस्थापन महानगर अन्तर्गत कोरोना नियन्त्रण कार्यदलले गर्दै आएको भएपनि पछि अस्पतालको समय लम्बिएपछि भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो ।  

अस्पताल हस्तान्तरणपछि संयुक्त स्टोरमा रहेका सामान कार्यदलले छुट्टै स्टोर स्थापना गरी लैजाने क्रममा चोरीको आरोप लगाएको कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले बताए । 

आफ्नो स्टोरमा लैजाने क्रममा विभिन्न मितिका सीसीटीभी फुटेज जोडेर सार्वजनिक गरिएको उनको भनाई छ । 

काेराेना भाइरस संक्रमणकाे तयारीकाे क्रममा भरतपुर महानगरपालिकामा देशमै पहिलोपटक ७२ घण्टामै कोरोना विशेष अस्पताल निर्माण गरी सञ्चालन गरिएको थियो । 

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल संयाेजक रहेकाे कार्यदलले  वडा नम्बर १० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० शय्याकाे अस्ताल  निर्माण गरी सञ्चालन गरेकाे हाे । 

मेयर आफैले नेतृत्व गरेर सञ्चालन गरेकाे अस्पतालको सेवा प्रभावकारी भएकोले जनतामा सकारात्मक छाप परेपछि विवादमा ल्याउन राजनीति गरिएको अस्पतालकै चिकित्सकहरु बताउँछन् । 

‘एउटा कुरा अस्पताल प्रभावकारी भएपछि बदनाम गर्ने निहुँ थियो, त्यसै क्रममा केही स्वास्थ्यकर्मीलाई होटलबाट अस्पतालको गेष्ट हाउसमा राख्ने कुरा भएपछि उनीहरुले विभिन्न मितिमा सामान सार्नका लागि निकालेको फुटेज जोडेर चोरी भन्ने हल्ला फैलाए’, एक चिकित्सकले भने ।  

अस्पतालका लागि कार्यदलले खरिद गरेको, विभिन्न संस्थाबाट सहयोग प्राप्त भएको सामग्रीको दाखिला प्रमाण, बिल र वितरणो विवरणका साथै बाँकी बक्यौता सामग्रीको विवरण भिडाएर हेर्दा चोरी भएको नदेखिएको कार्यदलले जनाएको छ । 

यता अस्पतालमा अनावस्यक राजनीतिकरण मात्र भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि सम्बन्धित निकायलाई सत्य तथ्य पत्ता लगाई छानविन गर्न आग्रह गरेको छ । 

‘कोरोना विशेष अस्थायी अस्पतालमा देखिएको समस्याको सत्यतथ्य प्रमाण वा अध्ययन अनुसन्धान अवधिसम्म संस्थागत वा व्यक्तिगत वादविवाद नगरी छानविनमा सहयोग गर्न प्रशासन, नागरिक समाज, कानून व्यवसायी र आम पत्रकारहरुमा विशेष अपिल गर्दर्छौँ’, नेकपाले भनेको छ । 


 

मंगलबार, १६ बैशाख २०७७, १८ : ३२

प्रतिक्रिया