काठमाडौं- केही दिन यता निरन्तर बिजुली जाने क्रम बढेपछि आम जनमानसमा आक्रोश चुलिएको छ । कतिपयले यसलाई अघोषित लोडसेडिङ सुरु गरिएको भन्दै सरकार र विद्युत प्राधिकरणको चर्को आलोचना गर्न थालेका छन् ।
बिहीबार साँझ पटक पटक लाइन गएपछि आम उपभोक्ताहरुले अघोषित लोडसेडिङ गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
यद्यपि विद्युत प्राधिकरणले भने विद्युत वितरण प्रसारणमा समस्या देखिएको जनाउँदै लोडसेडिङ नभएको प्रष्ट्याएको छ ।
तर, वर्तमान सरकारले विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि लोडसेडिङको मार खेप्नुपरेको समेत आक्षेप लगाइएको छ । घिसिङले करिब १८ घण्टासम्म कायम रहेको लोडसेडिङ हटाएर लोकप्रियता आर्जेका थिए ।
अहिले घिसिङको बहिर्गमन लगत्तै बारम्बार लाइन जान थालेपछि फेरि लोडसेडिङको याम सुरु हुन थालेको आम उपभोक्ताले आशंका गरेका छन् । तथापि प्राधिकरणले भने अब मुलुकमा लोडसेडिङ कदापि नहुने दाबी गरेको छ ।
प्रतिक्रिया