गायिका रानुदेवी निधन

शुक्रबार, १९ बैशाख २०७७, १४ : ३२

रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा काठमाडौँमा निधन भएको छ । 

सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारकाक्रममा रानुदेवीको गएराति निधन भएको उनकी छोरी अल्पना रेग्मीले जानकारी दिए ।

शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत  गीत चर्चित रहेका छन् ।  उनीले  तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भरेकी थिइन्  । ती लगायत ६ बटा गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।
     
ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासन विरुद्धको आन्दोलनमा उनी कला र सांगीति मोर्चाबाट होमिएकी थिइन् ।  

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । 

स्व अधिकारीको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र दुई छोरी छिन् ।
 

शुक्रबार, १९ बैशाख २०७७, १४ : ३२

प्रतिक्रिया