भारतीय चलचित्र वा टेलि सिरियलमा नेपाल सँग सम्बन्धित विभिन्न अभिव्यक्ति आइरहेका हुन्छन् । कतिमा नेपाललाई एक अवैध धन्दा गर्ने ठाउँको रूपमा देखाइएको छ भने केहीमा गरिब अनि दयनीय रूपमा प्रस्तुत गरिएका छन् । यति बेला नेपाल र भारत बिचको सीमा लिपुलेक र कालापानी को विषय निकै विवादित बनेको छ भने भारतले नेपाल प्रति गरिरहेको ज्यादती को विरोध भइरहेको छ । इतिहास देखी नै नेपाललाई भारतको एक अंशको रूपमा सेलिब्रेटीदेखी उच्च ओहदाका व्यक्तिले अभिव्यक्ति दिँदै आएका छन् र नेपाल एक स्वतन्त्र देश हो भने थाहा नभएको भनि बताउँदै आएका छन् । यसरी बलिउडले नेपाल प्रति नकारात्मक सन्देश फैलाउने र नेपालीको अपमान गर्ने कार्यलाई निरन्तरता दिँदै फेरी एक टेली सिरियलमा नेपाली महिलालाई जोडेर तुच्छ गाली गरिएको छ । बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको 'पाताल लोक' नामको सिरियलमा उक्त अपमानजनक गाली समावेश गरिएको हो ।
अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको यो सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औँ सेकेन्डमा महिला पुलिस कर्मीले एक युवतीमाथि कुटपिट गर्दै यौन धन्दा गर्ने नेपाली अर्थको गाली गरेकी छिन् । नेपालीको स्वाभिमानमा आँच आउने तुच्छ गालीले सम्पूर्ण नेपालीको भावनामा ठेस पुगेको र यसले भारतीयले नेपालीलाई हेर्न नजर स्पष्ट हुने आलोचना भएको छ । यस सिरियलकी निर्मात्रीले माफी माग्नु पर्ने र यो सिनलाई नै हटाउनु पर्ने भन्दै सामाजिक सञ्जालमा आवाज उठ्न थालेको छ ।यस विषयमा एक भारतीय सैनिकले पनि विरोध जनाउँदै निकै लामो पोस्ट लेखी अनुष्का शर्माले माफी माग्नु पर्ने बताएका छन् । उनी लेख्छन्, 'म एक भारतीय गोर्खा हुँ मैले यो यस कारण लेखेँ किनभने यसले मलाई दुःखी बनायो । मेरी आमा र दिदी बहिनीले यस्तै चित्रणका कारण विभिन्न समस्या भोग्नुपरेको छ र तिमीहरूले घाउमा नुन खुर्सानी दल्ने काम गरिरहेका छौ ।पाताल लोकको यो दृश्यले यहाँ साम्प्रदायिक वैमनस्यता निम्त्याएको छ जुन नेपाल र मेरो पूर्वोत्तर समुदायका लागि पूर्ण रूपमा जातिवाद हो ।'
उनको यस पोस्टलाई सेयर गर्दै गायिका अभया सुब्बाले पनि यसमा उल्लेख गरिएको शब्दले पूरा समुदायको अपमान गरेको भन्दै अनुष्का शर्माबाट माफीको माग गरेकी छिन् । भारतीयले नेपाली प्रति गर्ने यस किसिमको व्यवहार कुनै पनि नेपालीलाई सह्य नहुने भन्दै विरोध भएको छ ।
प्रतिक्रिया