कोरोनाको महामारीले देश थिलथिलो भएको अवस्थामा गएको हप्ता जाजरकोटका दलित युवा नवराज विकको कथित उपल्लो जातकी छोरीसँग प्रेम सम्बन्ध भएको र दुलही लिन जाँदा केटी पक्षले निर्घात कुटपिट गरि भेरी नदीमा फालिदिएको घटनाले सिंगो देश नै स्तब्ध भएको छ । यो घटनालाई लिएर केही दिनयता सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी र आलोचना भैरहेको छ ।
नेपाली फिल्मकर्मीहरुले पनि उक्त घटनाको भत्र्सना गरेका छन् । उनीहरुले यो घटनाले विश्वसामु नेपालको शिर झुकेको भन्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिरहेका छन् । अभिनेता राजेश हमालले पनि हत्यामा संलग्न व्यक्तिलाई कानुन बमोजिम सजाय दिनुपर्ने बताएका छन् । जाजरकोटमा भएको घटनाले आफूलाई स्तब्ध मात्र नभइ आक्रोशित पनि बनाएको उनी बताउँछन् ।
शनिवार साँझ एक भिडियो सन्देशमार्फत् उनले एउटा व्यक्तिले अर्को व्यक्ति वा एउटा समुदायले अर्को समुदायलाई जात, पृष्ठभूमि र पेशाको आधारमा गालीगलौच, अपमान र अपराधिक क्रियाकलाप गर्ने अधिकार नभएको भन्दै त्यस्तो व्यबहार गर्ने व्यक्ति अपराधी रहेको बताएका छन् । त्यसप्रकारका व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने उनको माग छ ।
जाजरकोट घटनाको निन्दा गर्दै अभिनेता हमालले भनेका छन्, ‘अहिलेको समयमा कुनै पनि चेतनशिल नागरिकका लागि यसप्रकारको अपराधिक गतिविधि स्वीकार्य छैन । एउटा कायर र आफूमा आत्मविश्वास नभएको व्यक्तिले मात्रै अर्को व्यक्ति वा समुदायलाई जात वा वर्गको आधारमा अपमान गर्ने प्रयास गर्छ ।’ उनले नेपाली समाजमा विषको रुपमा रहेको जातीय प्रथा निर्मुल गर्न आवश्यक रहेको पनि औंल्याए ।
जातीय मतभेद अन्त्य नभएसम्म देशको प्रगतिको बाटो ओझेलमा पर्ने बताउँदै अभिनेता हमाल थप्छन्, ‘अहिलेको समयमा जातको आधारमा कुनै व्यक्ति वा समुदायले अन्याय, अत्याचार र अपराधिक क्रियाकलाप गर्छ भने ऊ राष्ट्रको कानुन बमोजिम कडाभन्दा कडा सजायको भागिदार हुन आवश्यक छ ।’ लकडाउनका कारण घरभित्रै सीमित भएका हमालले पछिल्लो समय भिडियो सन्देशमार्फत् विभिन्न विषयमा आफ्ना विचार व्यक्त गर्दै आइरहेका छन् ।
प्रतिक्रिया