प्रतिनिधिसभामा यादव र राष्ट्रियसभामा भट्टले शपथ गराउने

६ बर्ष अगाडि

काठमाडौँ - सघीय संसद्का नवनिर्वाचित सदस्यको यही फागुन २० गते आइतबार शपथ हुने भएको छ । 

संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभा सदस्यले अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनेछन्  । 

राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनेछन्  । संविधानका विषयमा फरक मत राख्दै आएको राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका  ज्येष्ठ सदस्य यादवलाई प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने अवसर प्राप्त भएको छ । 

प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदनका रुपमा रहेको छ । 

त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ६९ वर्षीया ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनेछिन्  । नेपाली काँग्रेस प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रमुख प्रतिपक्षका रुपमा रहनेछ । 

माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका हिसाबले ५६ र सरकारको सिफारिशमा राष्ट्रपतिबाट तीनजना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुवै सदनका ज्येष्ठ सदस्यले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया