मनिषाको कोरोना रिपोर्ट नेगेटिभ

शनिबार, २४ जेठ २०७७, १४ : १४

सपरिवारसहित गएको चार दिनअघि कोरोना भाइरसका कारण जारी बन्दाबन्दीका बीच भारतबाट नेपाल आएकी अभिनेत्री मनिषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अहिले राजधानीको एक होटलमा क्वारेन्टाइनमा बसेकी उनले आफू र परिवारको कोरोना परिक्षण गराएकी थिइन् । परिक्षणमा उनीसहित परिवारको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त छ । 
 
विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार मनिषा घर नगई आफ्ना बुवाआमासँगै होटलमा बसेकी छन् । क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित आफन्तबाहेक अरूसँग भेट गरेकी छैनन् । गएको केही महिनादेखि माता पितासँग भारतको मुम्बईमा बस्दै आएकी अभिनेत्री मनिषा भैरहवा (बेलहिया) नाका हुँदै नेपाल भित्रिएकी थिइन् । 
 
नेपाल सरकारले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्साको समर्थनमा बोलेपछि भारतीय मिडिया मनिषाको विरोधमा उत्रिएका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रिट्विट गर्दै मनिषाले तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादको लागि आशावादी रहेको बताएकी थिइन् । 
 
उक्त ट्विट अभिनेत्री मनिषा कोइरालाले चीनको इशारामा गरेको भन्दै भारतीय भिडियाले उनलाई तुच्छ शैलीमा गाली गलौच गरेका थिए । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार समेत प्रशारण गरेको थियो । यद्यपि, उनको नेपालमा भने वाहवाही भएको थियो । ‘सौदागर’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘सञ्जु’ हो ।

शनिबार, २४ जेठ २०७७, १४ : १४

प्रतिक्रिया