हलभन्दा अगाडि टिभीमा रिलिज हुँदै ‘हिरो रिटर्न्स’

सोमबार, २६ जेठ २०७७, ११ : २४

२०७३ सालमा निर्माण घोषणा गरिएको फिल्म हो, ‘हिरो रिटर्न्स’ । अभिनेत्री रेखा थापाको डेब्यू फिल्म ‘हिरो’ नामको पछाडि रिटर्न्स जोडेर निर्माण भएको यो फिल्म अझैसम्म हलमा प्रदर्शन हुन सकेको छैन । निर्माणको चार वर्षमा फिल्मको थुप्रै पटक प्रदर्शन मिति तोकियो । तर, विभिन्न कारणले हलमा लाग्न सकेन । फिल्मको ट्रेलरदेखि गीतसम्म यूट्युबमा सार्वजनिक भैसकेका छन् ।
 
गत वर्ष निर्माण टिमले फिल्मको एक्सनपूर्ण ट्रेलर सार्वजनिक गर्दै यस वर्षको बैशाख २६ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको थियो । तर, फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा देशमा कोरोना भाइरसको त्रास सुरु भयो । सरकारले यसको संक्रमण फैलिन नदिन अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेपछि निर्माण टिमले पुनः फिल्मको प्रदर्शन मिति स्थगित गर्‍यो ।

अब भने फिल्म प्रदर्शन हुने भएको छ । तर, हलमा होइन टिभीमा । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा अभिनीत ‘हिरो रिटर्न्स’ लाई निर्माण टिमले हलभन्दा अगाडि टिभीमा रिलिज गर्ने निर्णय लिएको छ । फिल्म यही जेठ ३० गतेबाट डिस होममा रिलिज हुँदैछ । निर्माता धुव्र न्यौपानेले स्थिति सामान्य भएपछि फिल्मलाई हलमा प्रदर्शन गर्ने तयारी पनि गरेको बताए ।  
 
उनले लकडाउन खुलेको ६ महिनासम्म हलमा दर्शक आउने अवस्था नरहने भएकाले पहिला टिभीमा फिल्म रिलिज गर्न लागेको बताए । उनले भने, ‘फिल्म निर्माण भएको चार वर्ष भइसक्यो । धेरै पटक हलमा फिल्म प्रदर्शन गर्ने तयारी गरेता पनि सफल भएन । कोरोनाका कारण अझै ६ महिना हलमा फिल्म प्रदर्शन गर्ने अवस्था नहुने देखेपछि पहिला टिभीमा रिलिज गर्न लागेका हौं ।’
 
टिभीमा फिल्म रिलिज गरेपछि हलको व्यापारमा असर गर्दैन रु भन्ने फिल्मीखबरको प्रश्नमा निर्माता न्यौपानेले निराश भावमा भने, ‘असर त गर्छ । तर, कहिलेसम्म तयार भैसकेको फिल्म थन्काएर राख्ने रु अब जे होला त्यही टर्ला ।’ हलमा नलाग्दै टिभीमा रिलिज हुन लागेको यो पहिलो फिल्म भने होइन । लकडाउनकै समयमा फिल्म ‘कोपिला’ पनि सिधै डिस होममा रिलिज भएको थियो । 
 
कोरोनाका कारण अहिले धेरै निर्मातालाई मार्का परेको छ । लकडाउनले गर्दा सिनेमा हल बन्द हुँदा करोडौं खर्चिएर निर्माण गरेको फिल्म कम्प्युटरको हार्डडिक्समा थन्किएका छन् । कोरोनाको त्रासले लकडाउन खुलेको लामो समयसम्म हलमा दर्शक आउने अवस्था छैन । जसले गर्दा निर्माताहरु हल खुल्ने प्रतिक्षामा बस्ने वा अन्य प्ल्याटफर्ममा फिल्म रिलिज गर्ने भन्नेमा अन्योल छन् ।

सोमबार, २६ जेठ २०७७, ११ : २४

प्रतिक्रिया