नेपाली फिल्मलाई घुँडा टेकेर भएपनि माथि उठाउँछौं : मिलन चाम्स

विहीबार, २९ जेठ २०७७, १५ : ०१

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले पदभार ग्रहण गर्दैगर्दा फिल्म क्षेत्रलाई पुनःस्थापित गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएपछि फिल्मकर्मीमा आशाको किरण छाएको छ । उनले चाँडै बोर्डको आन्तरिक स्रोतबाट राहत प्याकेज घोषणा गर्ने पनि आश्वासन दिएका छन् । उनको बोली सुन्दा फिल्म क्षेत्र चाँडै चलायनमान हुने आश गर्न सकिन्छ ।
 
फिल्म क्षेत्रलाई पुनः स्थापित गर्नुपर्ने चुनौतीको भार बोर्डको काँधमा मात्रै थोपर्नु पनि गलत हुनसक्छ । यसका लागि फिल्मकर्मीहरु पनि एकजुट हुन आवश्यक छ । लकडाउनपछि सिनेमा हल पुनःसुचारु गरेर फिल्म निर्माण र प्रदर्शनको वातावरण मिलाउन निर्माता, कलाकार, वितरक, हल सञ्चालक सबैले आफ्नोतर्फबाट प्रयास गर्ने हो फिल्म क्षेत्रले चाँडै काँचुली फेर्न सक्नेछ ।
 
कोरोनाको कहरले फिल्मकर्मीमा निराशा छाएको अवस्थामा निर्देशक तथा निर्माता मिलन चाम्सले भने फिल्म क्षेत्रलाई घुँडा टेकेर भए पनि माथि उठाउने विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूहरु नआत्तिएको र अब काम सुरु हुने बताएका छन् । उनको यो भनाईबाट बुझ्न सकिन्छ कि उनी चाँडै नयाँ फिल्मको छायांकन सुरु गर्दैछन् । 
 
निर्देशक चाम्स अहिले ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को तयारीमा छन् । दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, कविता आलेलगायतका कलाकारहरुको मुख्य भूमिका रहने यो फिल्म २०२१ मा विश्वभर प्रदर्शन गर्ने उनको योजना थियो । तर, कोरोनाले केही पछाडि धकलेको छ । उनी लकडाउन खुलेपछि फिल्मको छायांकन सुरु गर्दैछन् ।

 

विहीबार, २९ जेठ २०७७, १५ : ०१

प्रतिक्रिया