बलिउड अभिनेता अमिताभ बच्चन र आयुष्मान खुराना अभिनीत फिल्म ‘गुलाबो सिताबो’ १२ जूनबाट अमेजन प्राइममा रिलिज भइसकेको छ । कोरोनाका कारण जारी लकडाउनपछि घरभित्रै रहेका अभिनेता अमिताभले घरमै बसेर आफू अभिनीत फिल्म हेरेका छन् । उनले परिवारसँग घरमै बसेर पहिलो पटक फिल्म हेरेको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।
उनले आफ्नो एक ब्लग पोस्टमा लेखेका छन्, ‘पूरै परिवारसँग बसेर कुनै फिल्म हेर्नुको मज्जा नै छुट्टै छ । यो अनुभव मलाई पहिलो पटक भयो । घरमै बसेर फिल्म रिलिज हुँदै गरेको देख्नु र परिवारसँग यसको आनन्द लिनु, म आफूलाई धन्य महशुस गरिरहेको छु ।’ यो फिल्मलाई अमेजन प्राइमको माध्यमबाट २ सय देश र १५ अलग(अलग भाषामा सबटाइटलसहित रिलिज गरिएको छ ।
अभिनेता बच्चनले अगाडि लेखेका छन्, ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै यो तरिकाले फिल्म रिलिज भएको देख्नु आश्चर्यजनक छ । तर, धेरै परियोजनाहरू भविष्यमा यसै रूपमा प्रस्तुत गर्ने लाममा छन् । यसको अनुभव, निर्णयहरू, नतिजा र प्रतिक्रियाहरू सबै फरक हुनेवाला छ, किनकि कुनै यस्तो टेक्नोलोजीको आविष्कार अझै हुन बाँकी छ । जसबाट यो पत्ता लगाउन सकियोस् कि कति मानिसहरु फिल्म हेरिरहेका छन्, उनीहरुको संख्या कति छ र सम्भावित परिणाम के हो ।’
‘गुलाबो सिताबो’ मा अमिताभ बच्चन र आयुष्मान खुरानले पहिलो पटक स्क्रिन साझेदारी गरेका हुन् भने उनीहरुको हलमा प्रदर्शन नभइ सिधै मोबाइल स्क्रिनमा रिलिज हुने पनि यो पहिलो फिल्म हो । फिल्ममा अमिताभले एक पुरानो बंगलाको मालिकको भूमिका निभाएका छन् भने आयुष्मान भाडावालाको भूमिकामा छन् । फिल्ममा दुवै जनाको अभिनयलाई दर्शकहरूले रुचाइरहेका छन् ।
प्रतिक्रिया