कोरोनाको कथामा फिल्म बनाउँदै सुदर्शन र पूजा

सोमबार, ०१ असार २०७७, १४ : ३९

विश्व भ्रमण गर्दै नेपालमा भयावह रुप धारण गरेको कोरोना भाइरसको कथामा प्रेमकथा गाँसेर निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माले फिल्म निर्माण गर्ने भएका छन् । नेपाल सरकारले जारी गरेको बन्दाबन्दी खुलेपछि अनटाइटल प्रोजेक्टको छायांकन सुरु हुने बताइएको छ । यो फिल्मका लागि निर्देशक थापा र अभिनेत्री शर्माले नयाँ अनुहार अर्थात् अभिनेता खोजेका छन् । 
 
अडिसनको माध्यमबाट फिल्मका लागि अभिनेता छानिने निर्देशक थापाले जानकारी दिए । फिल्ममा अभिनेत्रीको रुपमा पूजा शर्मा हुने बुझिएको छ । किनकि, सुदर्शनले निर्देशन गर्ने कुनै फिल्ममा पूजा छुट्दिनन् । यद्यपि, यो फिल्ममा उनको अभिनय रहने विषयमा निर्माण टिमबाट कुनै जानकारी प्राप्त भएको छैन । बन्दाबन्दी खुलेपछि अभिनेताका लागि अडिसन आह्वान गरिनेछ ।
 
फिल्म ‘मधुमास’ बाट सुरु भएको सुदर्शन र पूजाको सहकार्य अहिलेसम्म टुटेको छैन । फिल्म ‘प्रेमगीत’ को सफलतापछि यी दुईको सहकार्यको गाँठो झन् कसिलो बन्यो । पछिल्लो केही वर्षयता उनीहरुले फिल्म निर्माण पनि मिलेर गरिरहेका छन् । यी दुईलाई एकअर्काको साथ फलदायक बनेको देखिन्छ । यसकारण पनि फिल्मवृतमा उनीहरु प्रेममा रहेको चर्चा चल्ने गर्दछ । 
 
सुदर्शन थापा निर्देशित तथा पूजा शर्मा अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको पखाईमा छ । यो फिल्म गत वर्षको फागुन अन्तिममा प्रदर्शन हुँदै थियो । तर, कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि फिल्मको प्रदर्शन रोकियो । अब यो फिल्म दशैंपछि मात्र प्रदर्शन हुने देखिएको छ । फिल्ममा अभिनेत्री पूजाले अभिनेता पल शाहसँग रोमान्स गरेकी छन् । 

सोमबार, ०१ असार २०७७, १४ : ३९

प्रतिक्रिया