प्रदीपका लागि दिनेशले छाडे ‘मेरो एउटा साथी छ २’

विहीबार, ०४ असार २०७७, १२ : २५

दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ लाई सुदर्शन थापाले निर्देशन गरेका थिए । यसमा निर्देशक दिनेश राउत सहायक निर्देशकको रुपमा थिए । यसको सिक्वेलमा भने सुदर्शनलाई दिनेशले रिप्लेस गरे । गत वर्ष आइकोर फिल्मस्ले ‘मेरो एउटा साथी छ २’ को निर्देशकमा राउतलाई मोटो रकममा अनुबन्ध गरेको थियो । तर, अब उनले यो फिल्म नगर्ने भएका छन् । 
 
फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, निर्देशक राउतले फिल्म ‘मेरो एउटा साथी छ २’ बाट हात झिकिसकेका छन् । अभिनेता प्रदीपसँग नयाँ प्रोजेक्टमा टिमअप भएपछि उनले यो फिल्म नगर्ने निर्णय लिएको बुझिएको छ । यद्यपि, यस विषयमा निर्देशक दिनेश राउत र निर्माण कम्पनी आइकोर फिल्मस्बाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । 
 
‘मेरो एउटा साथी छ २’ बाट हात झिके पनि निर्देशक राउतको पाइपलाइनमा तीन फिल्म छन् । गत वर्ष निर्माता रोहित अधिकारीसँग उनको एक फिल्मका लागि सम्झौता भएको थियो । अब, प्रदीप खड्कासँग टिमअप भएको छ । उनको हातमा अर्को एक फिल्म पनि छ । ‘नोभेम्बर रेन’ जस्तो उम्दा फिल्म दिएका उनले पछिल्लो पटक फिल्म ‘प्रसाद’ निर्देशन गरेका थिए ।
 

विहीबार, ०४ असार २०७७, १२ : २५

प्रतिक्रिया