अभिनेता पल शाहले आजको समयमा नेपाली फिल्ममा जुन उचाइ हासिल गरेका छन्, त्यसको पछाडि म्यूजिक भिडियोको ठूलो योगदान छ । यसैले पनि उनको भिडियोप्रति बेग्लै प्रेम र लगाव छ । एकै दिनमा छायांकन सकिने र पारिश्रमिक राम्रो पाइने भएकाले पनि उनले फिल्मभन्दा भिडियोलाई प्राथमिकता दिने गर्दछन् । उनले भिडियोबाटै लोभलाग्दो प्रशंसक कमाएका छन् ।
उनै, पल कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनको पालना गर्दै तीन महिनासम्म घरभित्रै बसे । यो समयमा उनले रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएका फिल्म प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यान्न सहयोग गरे । तर, महिनौंसम्म घरभित्रै सीमित हुँदा दिकदार भएका पलले लकडाउनका बीच गएको हप्ता एक म्यूजिक भिडियोको छायांकन भ्याए ।
उनले मोडल रियाशा दाहालसँग नृत्य गरेको ‘ए है माया’ बोलेको गीतको भिडियो अहिले नेपालको यूट्युब ट्रेन्डिङको दोस्रो स्थानमा छ । हुनत, पल अभिनीत गीतका भिडियो प्रायः यूट्युब ट्रेन्डिङमा उक्लिएकै हुन्छन् । किनकि, उनलाई यूट्यबमा खोज्ने दर्शकको संख्या ठूलो छ । उनले आफू अभिनीत गीतको पोस्टर वा यूट्युब लिंक सामाजिक सञ्जालमा शेयर गरेर प्रचार पनि गर्ने गर्दछन् ।
‘ए है माया’ गीतको भने पलले फिल्मभन्दा बढी प्रचार गरेको देखिएको छ । आफू अभिनीत फिल्मका प्रचार सामाग्रीहरु सामाजिक सञ्जालमा कमै मात्र शेयर गर्ने उनले यो गीतको पोस्टर र अन्य सामाग्रीले आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउन्ट रंग्याएका छन् । यस्तो लाग्छ, उनको यो गीत ड्रिम प्रोजेक्ट हो । यो गीतका खातिर उनी दुईपटक फेसबुक लाइभमा समेत झुल्किसकेका छन् ।
आफू अभिनीत फिल्मका गीत वा ट्रेलर यूट्युबमा सार्वजनिक हुँदा उनले फेसबुक लाइभमार्फत् सायदै आफ्ना प्रशंसकसँग भलाकुसारी गरेका छन् । प्रदर्शनको पखाईमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक हुँदा पनि उनले यसो गरेनन् । पलले भिडियोलाई गरेको प्रेम देख्दा उनलाई लिएर फिल्म बनाउने सोचमा रहेका निर्माताले म्यूजिक भिडियो नबनाउलान् भन्न सकिन्न । उनले सामाजिक सञ्जालमा म्यूजिक भिडियोको जस्तो प्रचार फिल्मको गरिदिए निर्माता कति खुसी हुन्थे होलान् !
प्रतिक्रिया