कस्ट्यूम डिजाइनर हुँदै फिल्म निर्देशक बनेका जोएल शूमाकरको सोमवार निधन भएको छ । उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । उनले ‘द लास्ट ब्वाइज’, ‘फलिङ डाउन’ र ‘ब्याटम्यान’ फिल्मको निर्देशन गरेका थिए । निर्देशक जोएलका एक प्रतिनिधिका अनुसार, लामो समयदेखि क्यान्सरसँग लडिरहेका उनको ८० वर्षको उमेरमा न्यूयोर्कमा निधन भएको हो ।
जोएलले १९८० देखि १९९० सम्म यस्ता केही फिल्म बनाएका थिए, जुन क्रिटिक्सले नरुचाए पनि दर्शकले भने मन पराएका थिए । टिम बर्टन, वार्नर ब्रदर्सबाट निस्किएपछि जोएललाई ‘ब्याटम्यान’ फेन्चाइजको जिम्मेवारी दिइएको थियो । दुई जबरदस्त हिट फिल्म दिएपछि ‘ब्याटम्यान’ श्रृंखलामा उनले प्रभुत्व जमाएका थिए । उनले निर्देशन गरेको पहिलो फिल्म ‘ब्याटम्यान फरेभर’ थियो ।
यो फिल्ममा वाल किल्मर, टमी ली जोन्स, जिम क्यारी र निकोल किडम्यान प्रमुख भूमिकामा थिए । फिल्मले विश्वभर ३ सय मिलियन कमाई गरेको थियो । ‘ब्याटम्यान एन्ड रबिन’ उनको दोस्रो ‘ब्याटम्यान’ फिल्म थियो, जुन १९९७ मा आएको थियो । उनको निधनले हलिउड शोकमा डुबेको छ । हलिउड कलाकारहरुले उनलाई सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली दिएका छन् ।
प्रतिक्रिया