तीन महिनासम्म पनि लकडाउन नखुल्दा भने साम्राज्ञी दिकदार भएकी थिइन् । लकडाउनअघि बाक्लै रुपमा देश तथा विदेशमा घुम्न निस्किरहने उनी फेरि त्यही दिनको प्रतिक्षामा थिइन् । गएको दुई हप्ता अगाडि सरकारले लकडाउनलाई लुजडाउनमा परिणत गरेपछि भने उनी खुल्ला आकाशको पन्छीझैँ भएकी छन् । लकडाउन खुकुलो भएसँगै उनको घुमफिर सुरु भएको छ ।
उनले प्रेमी देवांस राणासँग घुमघाममा निस्किएको भिडियो तथा तस्विरहरु इन्स्टामा साझेदार गरेकी छन् । जसमा उनलाई निकै खुसी देखिएको छ । उनले घुम्न निस्किएको ठाउँ उल्लेख नगरे पनि उनका प्रेमीले इन्स्टाको एक भिडियोमा ‘कैलाली जाने बाटो’ भन्दै कसैसँग कुराकानी गरिरहेका छन् । यसको मतलब साम्राज्ञी प्रेमीसँग घुमफिरका लागि सुदूरपश्चिमतर्फ निस्किएकी छन् ।
अभिनेत्री साम्राज्ञीको गत वर्ष दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनमा आएका थिए । उनले यी दुई फिल्मबाट ठूलो आश गरेकी थिइन् । तर, दुवै फिल्मले बक्सअफिसमा नमज्जासँग घुँडा टेके । लकडाउन नभएको भए उनी यतिबेला हेमराज विसीको फिल्ममा काम गर्दै हुने थिइन् । ‘अशुभ विवाह’ नामक फिल्ममा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् ।
प्रतिक्रिया