साम्राज्ञी विरुद्ध भुवनले अदालतमा दर्ता गरे मुद्धा

शुक्रबार, ०९ साउन २०७७, १५ : ५१

अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहबीचको विवाद अदालतसम्म पुगेको छ । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूलाई नराम्रो व्यवहार गरेको र जापानमा भएको अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि भुवनले चलचित्र कलाकार संघमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन दिएका थिए । संघले विवाद मिलाउन नसकेपछि भुवन अदालत पुगेका छन् । 
 
अभिनेता केसीले बिहीवार जिल्ला अदालत काठमाडौंमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका छन् । उनी गाली बेइजतीको मुद्धा लिएर अदालत पुगेका हुन् । यो विषयमा विभिन्न व्यक्तिले बोल्न थालेपछि अब सबै कुरा अदालतले फैसला गर्ने भुवनले बताएका छन् । साम्राज्ञीले सामाजिक सञ्जालमा पटक(पटक भिडियो सार्वजनिक गरेर आफूमाथि झुटा आरोप लगाएको उनको भनाई छ । 
 
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि फिल्म क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्मको विषयमा बहस भइरहँदा अभिनेत्री साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै आफूले अभिनय गरेको आठ फिल्ममध्ये तीन फिल्म ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको बताएकी थिइन् । उनले भोलीका दिनमा पुनः यस्ता घटना दोहोरिए कानुनी बाटो रोज्ने चेतावनी दिएकी थिइन् ।
 
साम्राज्ञीले आफूलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै भुवन केसीले फेसबुकमा ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोशपूर्ण स्टाटस लेखे । दोस्रो स्टाटसमा उनले पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा प्रचार गरेको र पुनः सामाजिक सञ्जालमा आफ्नो मान सम्मानमा आँच पुग्ने खालको भिडियो पोस्ट्याए साइबर क्राइमको मुद्धा हाल्ने चेतावनी पनि दिएका थिए ।

शुक्रबार, ०९ साउन २०७७, १५ : ५१

प्रतिक्रिया