‘प्रेमगीत ३’ रिलिज नहुँदै नयाँ फिल्ममा मनिष

३ बर्ष अगाडि

प्रदर्शनको पखाईमा रहेको फिल्म ‘प्रेमगीत ३’ ले नेपाली फिल्म क्षेत्रलाई एक नयाँ अनुहार दिँदैछ । उनी हुन्, मनिष राउत । फिल्ममा उनले राजकुमारको भूमिका निर्वाह गरेका छन् । कोरोनाको महामारी नभएको भए यो फिल्म गत वर्षको चैतमा प्रदर्शन भइसकेको हुन्थ्यो । अब आउँदो बैशाखमा फिल्म प्रदर्शन हुने बुझिएको छ । यो फिल्मलाई लिएर मनिष उत्साहित छन् । 
 
यसबीच, उनी ‘प्रेमगीत ३’ रिलिज नहुँदै नयाँ फिल्ममा अनुबन्ध भएका छन् । क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ ले निर्माण गर्न लागेको फिल्ममा उनी मुख्य अभिनेताको रुपमा चयन भएका हुन् । ‘डक्टर डेनिम’ को ब्राण्ड एम्बेसडर समेत रहेका राउतको जोडीको रुपमा भने नायिका छनौट नभएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए । यो फिल्ममा गौतम निर्माता रहनेछन् । 
 
आगामी बर्ष प्रदर्शन गर्ने गरी ‘डक्टर डेनिम’ ले फिल्म निर्माण गर्न लागेको हो । फिल्मका निर्देशक, लेखकसहित अन्य टिमको बारेमा भने जानकारी गराइएको छैन । केही समयमा नै फिल्मको नामसँगै लेखक तथा निर्देशकको परिचय दिने निर्माण टिमको योजना छ । फिल्ममा मनिषको जोडीको रुपमा नायिकाका लागि नयाँ कलाकारको खोजी भइरहेको निर्माता गौतमले बताए ।
 
फिल्ममा मनिषलाई अभिनेताको रुपमा चयन गर्नुको कारणबारे निर्माता गौतम भन्छन्, ‘मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मको लागि ‘डक्टर डेनिम’ को ब्राण्ड एम्बेसडर बनाएका थियौँ । उहाँको क्रेजबाट हामीले हाम्रो ब्राण्ड स्थापित गर्न सफल बन्यौँ । अब हामीले उहाँलाई नै लिएर फिल्म बनाउन लागेका छौँ ।’ फिल्मको नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया