बाल्यकालदेखि नै फिल्म अभिनयमा सक्रिय रहेकी नीता ढुंगानाले केही दिन अगाडि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी छन् । नीताले आफ्नो प्रोडक्सन हाउस नीता फिल्मस्बाट भजनको भिडियो पनि निर्माण गरेकी छन् । शनिवार राजधानीको एक गणेश मन्दिरमा भिडियोको छायांकन भइरहेको छ ।
आफूले गाएको भजनको भिडियोमा उनी स्वयं देखिने छिन् । नीताले आफ्नो नाममा खडा गरेको नीता फिल्मस्बाट फिल्म पनि निर्माण गर्दैछिन् । समुन्द्र भट्टले निर्देशन गर्ने फिल्ममा उनको सोलो लगानी रहनेछ । फिल्ममा उनको जोडी कोशिश क्षेत्रीसँग बाँधिनेछ । कोरोनाको अन्त्यपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । फिल्मको कथा कोशिशले लेखिरहेका छन् ।
नेपाली फिल्म क्षेत्रमा स्वच्छ छवि बनाएकी नीता अभिनयमा उम्दा मानिन्छिन् । तर, उनको प्रमुख भूमिका रहेका प्रायः फिल्मले निर्मातालाई मुनाफा दिलाउन सकेका छैनन् । तथापि, फिल्मको असफलताले उनको करिअरमा भने खासै ठूलो असर पारेको छैन । लगातार फिल्ममा काम गर्दै आइरहेकी उनको अहिले युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग नाम जोडिएको छ ।
प्रतिक्रिया