कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि फिल्ममा काम गरेर परिवारको गुजरा चलाउँदै आएका हजारौं प्राविधिकको रोजीरोटी गुम्यो । आर्थिक अवस्था कमजोर भएका प्राविधिकलाई बिहान बेलुका हातमुख जोड्न पनि समस्या भएपछि अभिनेता पल शाहले ५ लाख बराबरको खाद्यन्न सहयोग गरे । उनको यो कार्यको फिल्मकर्मी र दर्शकले प्रशंसा गरेका थिए ।
लकडाउन खुकुलो भएपछि एक दर्जन बढी म्यूजिक भिडियोको छायांकन भ्याएका उनले देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थिति सामान्य नभएसम्म भिडियोमा काम नगर्ने घोषणा गरेका उनी बुधवार बाढी पीडितका लागि राहत बोकेर कालिकोट प्रस्थान गरेका छन् । शनिवार उनले बाढी पहिरोका कारण जनधनको नोक्सान भएका परिवारलाई राहत वितरण गर्दैछन् ।
काठमाडौंबाटै खाद्यान्न र लत्ता कपडा बोकेर कालिकोट प्रस्थान गरेका उनले कालिकोटका ४० घर परिवारलाई राहत वितरण गर्ने बुझिएको छ । पलले सामाजिक कार्य गर्नका लागि आफ्नो नाममा खडा गरेको पल शाह प्रतिष्ठानले हाम्रो टिम नेपालसँग सहकार्य गरेर राहत वितरण गर्न लागेको हो । पलका अनुसार, कालिकोटपछि आछामका बाढी पीडितलाई पनि राहत वितरण गरिनेछ ।
कोभिड १९ का कारण रोजीरोटी गुमेका प्राविधिकलाई सहयोग गरेपछि बाढी पीडितको पीडामा मलहम लगाउन कालिकोट पुगेका पल अब सामाजिक कार्यलाई निरन्तरता दिने सोचमा छन् । संघर्षको समयमा आफूले दुःख र अभावसँग जुधेका कारण अरुको दुःख हेर्न नसक्नु उनको भनाई छ । संकटको समयमा पलले सामाजिक कार्यमा देखाएको सक्रियता साँच्चै प्रशंसनीय छ ।
प्रतिक्रिया