अभिनेता आशिरमान देशराज जोशी सोमवारबाट २२ वर्षका भएका छन् । रविना देशराज श्रेष्ठ र भावेन्द्र जोशीको कान्छो सन्तानको रुपमा २०५५ साल भदौ १५ गते काठमाडौंमा जन्मिएका उनलाई फिल्मकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् जन्मदिनको शुभकामना दिइरहेका छन् । उनले बर्थडे केक काटेका केही तस्विरहरु इन्स्टामा शेयर गरेका छन् ।
आशिरमानलाई नेपाली फिल्मका ह्यान्डसम तथा स्टाइलिस अभिनेता भन्ने गरिन्छ । शहरीया युवापुस्तामा उनको राम्रो क्रेज छ । विशेषगरि युवतीहरु उनका डाइहार्ट फ्यान छन् । उनले फिल्म ‘ग्याङस्टार ब्लूज’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । यो फिल्ममा काम गर्दा उनी भर्खर १८ वर्षका थिए । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । अर्थात्, फिल्म सफल हुन सकेन ।
यो फिल्म रिलिजको २ वर्षपछि उनले दोस्रो पटक निर्देशक हेमराज विसीसँग फिल्म ‘द ब्रेकअप’ मा काम गरे । दुर्भाग्य १ यो फिल्म पनि बक्सअफिसमा टाँट पल्टियो । लगातार दुई फिल्मको खराब नतिजाले हच्किएका उनले डेढ वर्षयता कुनै फिल्म साइन गरेका छैनन् । उनी अब हतारमा फिल्म छनोट गरेर फुर्सदमा पछुताउने पक्षमा छैनन् । त्यसैले राम्रो फिल्मको प्रतिक्षा गरेर बसेका छन् ।
आशिरमानका दाई आयुष्मान पनि नेपाली फिल्मका अभिनेता हुन् । उनकी आमा रविना देशराज जोशीले पनि अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत तथा निर्मित फिल्म ‘सोल सिस्टर’ मा केमियो भूमिकामा अभिनय गरेकी थिइन् । आशिरले आफूलाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । दर्शकहरुले भने उनलाई पर्दामा फर्किन आग्रह गरेका छन् ।
प्रतिक्रिया