‘चिसो मान्छे’ मा  स्वस्तिमा र अर्पणको जोडी ?

मंगलबार, १६ भदौ २०७७, १४ : ५२

नेपालमा चलेको फिल्मी ट्रेन्डभन्दा फरक शैलीले फिल्म निर्माण गर्ने निर्देशकको रुपमा चिनिएका दीपेन्द्र के। खनाल चैत पहिलो साताबाट भएको लकडाउनयता फिल्म ‘चिसो मान्छे’ को स्क्रिप्टमा काम गरिरहेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आमा’ ले समीक्षात्मक तथा व्यवसायिक सफलता प्राप्त गरेपछि हौसिएका उनी यो फिल्ममा पनि समाजभित्रको कथालाई टिप्दैछन् । 
 
कोरोनाको महामारी अन्त्य भएपछि छायांकन सुरु हुने फिल्मको आउँदो वर्षको भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सर्मिला पाण्डेले निर्माण गर्ने फिल्मका लागि लिड अभिनेत्रीमा स्वस्तिमा खड्कालाई अफर गरिएको छ । उनलाई स्क्रिप्ट र आफ्नो भूमिका मन परेका कारण फिल्म गर्न सकारात्मक छिन् । तर, निर्माण टिमसँग उनको कागजी सम्झौता भने भएको छैन ।
 
त्यस्तै, फिल्म ‘चिसो मान्छे’ मा स्वस्तिमाको अपोजिटमा अभिनेता तथा निर्देशक अर्पण थापा फाइनल भएको जानकारी प्राप्त छ । उनीसँग निर्माण टिमको कागजी सम्झौता समेत भइरहेको स्रोत बताउँछ । तर, निर्देशक खनाल र निर्मात्री पाण्डेले यस विषयमा कुनै जानकारी दिएका छैनन् । अर्पणसँग दीपेन्द्रको निकै राम्रो सम्बन्ध छ । फिल्म ‘घर’ मा उनीहरुबीच सहकार्य भएको थियो । 
 
फिल्मको सुदूरपश्चिमका विभिन्न भेगमा छायांकन हुनेछ । फिल्ममा सुदूरपश्चिम भेगको परिवेश र लबज प्रयोग गरिँदैछ । फिल्मलाई निर्देशक खनाल आफैंले खिच्दैछन् । ‘धनपती’ र ‘आमा’ पनि उनी स्वयंले खिचेका थिए । पछिल्लो समय मानिसहरु कसरी स्वार्थी भइरहेका छन् भन्ने कथा फिल्मले उठान गर्नेछ । ‘चिसो मान्छे’ पछि निर्देशक खनालको पाइपलाइनमा फिल्म ‘लकडाउन’ छ ।

मंगलबार, १६ भदौ २०७७, १४ : ५२

प्रतिक्रिया