अभिनेत्री सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । आमा झरना थापाले निर्देशन गरेको फिल्मबाट अभिनय करिअर थालनी गरेकी उनले पहिलो फिल्मबाटै सफलताको सुख प्राप्त गरिन् । फिल्ममा उनको अभिनय पनि निकै रुचाइयो । डेब्यू फिल्मबाटै उनले डि सिने अवार्ड र कामना अवार्डमा नव अभिनेत्रीको अवार्ड समेत उचाल्न सफल भइन् ।
अमेरिकामा अध्ययन गरेर फर्किएकी उनी लकडाउनअघि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिइन् । यसमा उनको जोडी अभिनेता अनमोल केसीसँग बाँधिएको छ । लकडाउनका कारण फिल्मको छायांकन रोकिएपछि उनी परिवारसँग समय विताइरहेकी छन् । भगवान् कृष्णको भक्त बताउने उनी हप्तामा केही दिनमा मन्दिर पुगेर पुजाआजा पनि गरिरहेकी हुन्छिन् ।
सुनिल कुमार थापा निर्मित ‘ए मेरो हजुर ४’ यस वर्षको दशैंमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाको संक्रणमबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि फिल्मको छायांकन समेत पूरा हुन सकेको छैन । अब अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन हुने सम्भावना बढेको छ । दोस्रो पटक सुहाना र अनमोलको जोडी बाँधिएका कारण दर्शकहरु यो फिल्मको व्यग्र प्रतिक्षामा छन् ।
फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोलको फ्यानको भूमिकामा उम्दा अभिनय गरेकी सुहानाले यसको चौथौ श्रृंखलामा कस्तो खाले भूमिका निर्वाह गरेकी छन् भन्ने धेरैलाई चासो छ । बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ए मेरो हजुर ४’ कहिले रिलिज हुन्छ भनेर एक प्रशंसकले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले फिल्ममा आफूले निर्वाह गरेको भूमिका पनि खुलाएकी छन् ।
उनले सही समय आएपछि फिल्म रिलिज हुने बताउँदै आफ्नो अनुहार लुकाएर एक तस्विर पोस्ट्याएकी छन् । फिल्मको सुटिङ सेटमा खिचिएको तस्विरमा उनको हातमा एक खरीपाटी छ, जसमा उनको परिचय खुलाइएको छ । सुहानाको हातमा रहेको खरिपाटीमा नाम आर्या महर्जन, पेशा विद्यार्थी, घर पाटनदरबार स्क्वायर, उमेर १९ वर्ष र अपराध गुण्डागर्दी र मापसे उल्लेख छ ।
प्रतिक्रिया