अभिनयमा पारंगत मानिने अभिनेता नाजिर हुसेन सोमवार आफ्नो ३०औं जन्मदिन मनाउँदैछिन् । २०४७ साल भाद्र २२ गते सिमरामा सामान्य परिवारमा जन्मिएका उनले सन् २०१५ मा आएको ‘होस्टेल रिर्टन्स’ बाट फिल्म करिअर सुरु गरेका थिए । यसमा उनले मधेशी युवकको भूमिकामा जीवन्त अभिनय गरेका थिए । यो फिल्मपछि उनले आफ्नो करिअर फर्केर हेर्नुपरेको छैन ।
फिल्ममा आउनुभन्दा अगाडि उनले रंगमञ्चको दुनियाँमा आफ्नो अलग्गै पहिचान बनाइसकेका थिए । जीवन मन्दला थिएटरबाट आफ्नो व्यावसायिक अभिनय थालनी गरेका उनले ‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरनदास चोर’ लगायत दुई दर्जन बढी नाटकमा अभिनय गरिसकेका छन् । रंगमञ्चबाट खारिएर आएका कारण फिल्ममा उनको अभिनय कलाको सधैं प्रशंसा हुने गरेको छ ।
‘होस्टेल रिर्टन्स’ पछि उनले लिड अभिनेताको रुपमा ‘गाँठो’, ‘राज्जा रानी’, ‘कागजपत्र’ फिल्ममा काम गरेका थिए । तर, उनलाई दर्शकले हिरोको रुपमा स्वीकार गरेनन् । यसपछि सहायक चरित्रमा देखिँदै आएका उनको पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ हो । हरेक फिल्ममा उनको अभिनयको प्रशंसा हुने गरेको भएता पनि फिल्मले भने नाफाको व्यापार गर्न सकेका छैनन् ।
आजकाल नाजिर फिल्मभन्दा म्यूजिक भिडियोतर्फ बढी आकर्षित छन् । ‘माया बिरानी’, ‘कैले भेट्ने खै रु’, ‘यो कुरा गोप्य’ लगायतका गीत हिट भएपछि अहिले उनको म्यूजिक भिडियोमा ठूलो डिमान्ड छ । एक भिडियोका लागि उनले एक लाखसम्म लिने गरेको बताइन्छ । ‘वीर विक्रम २’ पछि फिल्मविहीन भएका उनले गएको महिना मल्टीस्टारर फिल्म ‘हुतुतु’ साइन गरेका छन् ।
प्रतिक्रिया