प्राविधिकलाई सहयोग गर्न राजेश हमालले किन खोजे सहयोगी हात ?

३ बर्ष अगाडि

विगत ६ महिनादेखि कोरोना भाइरसको महामारीका कारण फिल्म सम्बन्धि हरेक कार्य ठप्प छ । लामो दूरीका सवारी साधनदेखि हवाई उडानसम्मले सञ्चालनको अनुमति पाएका छन् । तर, हजारौं आश्रित फिल्म क्षेत्र तत्काल खोल्ने पक्षमा सरकार देखिएको छैन । फिल्ममा काम गरेर दैनिक गुजरा चलाउने हजारौं प्राविधिकहरुलाई कोरोनाका कारण हातमुख जोर्न समस्या भएको छ ।
 
कोरोनाको संक्रमण रोकथामका लागि पहिलो चरणको लकडाउनमा विभिन्न फिल्मकर्मीले प्राविधिकलाई आर्थिक तथा खाद्यन्न सहयोग गरे । ‘महानायक’ को उपाधि पाएका अभिनेता राजेश हमाल भने यो समयमा मौन रहे । कोरोनाका कारण दैनिक जीवनयापन गर्न समस्या भएका प्राविधिकलाई उनले सहयोग नगरेको भन्दै फिल्म क्षेत्रको एउटा समुहले आलोचना समेत गर्‍यो ।
 
लकडाउनको समयमा ‘महानायक’ विवाद जन्मनु यसैको उपज थियो । यसबीच, अभिनेता हमालले शनिवार आर्थिक अवस्था कमजोर भएका १ सय १३ जना प्राविधिकलाई जनही ५ हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेपछि धेरैले ‘हिरोको पालो अन्तिममा आउँछ’ भन्दै प्रशंसा गरेका छन् । तर, ५ लाख ६५ हजार बराबरको आर्थिक सहयोग उनी एक्लैले गरेका भने होइनन् ।

प्राविधिकहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभन्दा अगाडि अभिनेता राजेश हमालले विभिन्न सहयोगी व्यक्तिहरुको नाम लिएका थिए । आफ्ना केही नजिकका साथीहरुबाट प्राप्त सहयोग उनले प्राविधिकलाई हस्तान्तरण गरेका हुन् । तर, साढे ५ लाख सहयोग गर्न उनलाई किन सहयोगी हातको आवश्यकता पर्‍यो भनेर प्रश्न उठेको छ । उक्त कार्यक्रममा पत्रकारले उनलाई यही प्रश्न गरे ।
 
हरेक काम समुहमा गर्दा निरन्तरता र दिगो हुने अभिनेता हमालको बुझाई छ । उनले आफ्नो तर्फबाट प्राविधिकलाई गर्ने सहयोग यो मात्र नहुनसक्ने पनि बताएका छन् । ‘भोलीका दिनमा अरु क्रियाकलाप गर्नुपर्ने अवस्था पनि आउन सक्छ । समुहबाट गर्नु भनेको पनि सहज कुरा होइन । धेरै व्यक्तिलाई जुटाएर जिम्मेवारी लिनुपर्छ । त्यसैले सधैं समुहगत आवश्यकता पर्छ,’ उनले भने । 
 
केही कार्य सहयोग विना र केही सहयोगको साथमा हुने उनी बताउँछन् । उनले भने- ‘सहयोगको साथमा हुँदा तपाईंहरु (मिडियाकर्मी) यहाँ हुनुहुन्छ । व्यक्तिगत रुपमा सहयोग गर्दा तपाईंहरुको आवश्यकता नहुन सक्छ । त्यसैले व्यक्तिगत सहयोग पनि हुन्छ ।’ कोरोनाले सिर्जना गरेको असामान्य परिस्थितिमा सबैको साथ र सहयोगको आवश्यकता पर्ने उनको भनाई छ । 
 
उनले यो असहज अवस्थामा फिल्म निर्माता तथा निर्देशक हतोत्साहित नभएको पनि बताएका छन् । लकडाउनमा आफूलाई २/४ वटा फिल्मबाट अफर भएको र अहिले स्क्रिप्ट अध्ययन गरिरहेको उनले बताए । अभिनेता राजेश हमालले स्थिति सामान्य भएपछि फिल्ममा कमब्याक गर्ने संकेत पनि गरेका छन् । आफूले निर्देशन गर्ने फिल्मको पनि तयारी भइरहेको उनले जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया