संघर्षले बनेका सिताराम ( जन्मदिनको हार्दिक शुभकामना )

३ बर्ष अगाडि

हाँस्य क्षेत्रका एक नक्षत्र सिताराम कट्टेललाई जन्मदिनको हार्दिक शुभकामना ।

नेपाली हाँस्य क्षेत्रमा एउटा दर्विलो नाम हो, सिताराम कट्टेल । बुबाले थमाएको १७ सय बोकेर कलाकार बन्न राजधानी झिरेका उनले आज जुन ‘नेम र फ्रेम’ कमाएका छन्, त्यस पछाडिको संघर्ष कहालीलाग्दो छ । दशक अगाडि हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘धुर्मुस’ को चरित्र निर्वाह गरेपछि चर्चामा आएका उनलाई २०७२ सालमा गएको भूकम्पले सामाजिक अभियान्ता बनाएको छ ।  
 
बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानको रुपमा वि।सं २०४० साल असोज ४ गते सोलुखुम्बुको नेचाबेतघारीमा जन्मिएका उनी आइतवार आफ्नो ३७औं जन्मदिन मनाउँदैछन् । डेढ वर्षदेखि चितवनमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा व्यस्त रहेका उनले आफ्नो सक्रियतामा तीन ठाउँमा एकिकृत बस्ती समेत निर्माण गरिसकेका छन् । 
 
भूकम्पपछि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका सितारामले त्यसयता हाँस्य सिरियलमा अभिनय गरेका छैनन् । यद्यपि, उनले चितवनमा रंगशाला निर्माण भइरहँदा फिल्म ‘सेन्टी भाइरस’ बनाएका थिए । फिल्ममा उनी र उनकी श्रीमती कुञ्जना घिमिरे प्रमुख भूमिकामा थिए । तर, कमजोर कथावस्तु र प्रस्तुतिका कारण फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्न सकेन । 
 
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६ र ६ एकान ६’ मा अभिनय गरिसकेका सिताराम रंगशाला निर्माण भएपछि नयाँ फिल्म बनाउने सोचमा छन् । अहिले भने उनको तन(मन सबै क्रिकेट रंगशालामा छ । रंगशाला निर्माण गरेर सबै नेपालीको मुहारमा खुसी छर्ने सपना रहेको र त्यसका लागि आफूहरुले मिहेनत गरिरहेको उनले बताएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया