‘स्वर्ग’, ‘बसन्ती’, ‘बासुदेव’, ‘पच्चीस बसन्त’ जस्ता सम्झनलायक फिल्मको निर्देशन गरिसकेका नीर शाह आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । उनलाई सामाजिक सञ्जालको माध्यमबाट विभिन्न व्यक्तिहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । फिल्म ‘सेतो बाघ’ पछि निर्देशनबाट टाढा रहेका शाहको चरित्र अभिनेताको रुपमा अहिले पनि नेपाली फिल्ममा राम्रो माग छ ।
वि।सं। २०२४ सालमा हिरासिंह खत्री निर्देशित फिल्म ‘परिवर्तन’ बाट उनले अभिनय यात्रा सुरु गरेका थिए । ५ दशक लामो फिल्म करिअरमा उनले ‘कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको, कान्छी, ढुकढुकी, मुनामदन, किस्मत, सानो संसार, बादलपारी’ लगायत तीन सय बढी फिल्ममा काम गरेका छन् । उनले बलिउडका केही फिल्महरुमा पनि अतिथि भूमिकामा काम गरिसकेका छन् ।
कलाकार शाहले धेरै फिल्मको स्क्रिप्ट पनि लेखेका छन् । पहिलो फिल्ममा ७ सय रुपैयाँ पारिश्रमिक पाएका उनी अहिले नेपाली फिल्मका महंगा चरित्र अभिनेताका रूपमा परिचित छन् । कुशल गीतकार समेत रहेका उनी ‘पर्खिबसे आउला भनी’, ‘छोरी मलाई भागी भागी नसताऊ’ ‘गहिराइमा डुब्दै नडुब’, ‘प्यारी बसन्ती’, ‘को हो त्यो जसले मलाई’ जस्ता लोकप्रिय गीतका स्रष्टा हुन् ।
झण्डै १३ वर्षदेखि प्रेसरको औषधी सेवन गरिरहेका कलाकार नीर शाहलाई नेपाली फिल्म क्षेत्रको भीष्म पितामह भन्ने गरिएको छ । नेपालमा टेलिभिजन स्थापित गर्नमा पनि उनको ठूलो योगदान छ । उनी नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष हुन् । अभिनयका अलावा लामो समयदेखि कन्सल्टेन्सी चलाउँदै आएका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कयैन् सम्मान प्राप्त गरिसकेका छन् ।
नेपाली फिल्म क्षेत्रका एक चम्किला नक्षत्र नीर शाहलाई जन्मदिनको शुभकामना ।
प्रतिक्रिया