बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपश्चात् भारतीय सञ्चारमाध्यमबाट विभिन्न समाचारहरु बाहिरिएका थिए । यसैबिच बलिउडका बलीवुडका केही सबभन्दा ठूला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमको 'गैरजिम्मेवार रिपोर्टिङ'को विरुद्ध अदालतमा मुद्दा हालेका छन्।
सुशान्तको मृत्युपश्चात्को मामिलालाई लिएर महिनौँसम्म भारतका टेलिभिजन न्यूज च्यानलहरूले अनवरत रिपोर्टिङ गरे।
अहिले शाहरुख खान, आमिर खान तथा सलमान खानसहितका बलीवुडका दर्जनौँ निर्माता कम्पनीले अहिले ती रिपोर्टिङका केही शैलीलाई लिएर कारबाहीको माग गरेका हुन्।
'प्रतिवादीहरूका हिलो छ्याप्ने अभियानका कारण बलीवुडसँग सम्बद्ध मानिसहरूको जीविकामा प्रभाव परेको छ,' रिट निवेदनमा जिकिर गरिएको छ।
पछिल्ला महिनाहरूमा भारतीय सञ्चारमाध्यममा ती अभिनेताको निधनको समाचार छाएको थियो।
अहिले दुईवटा च्यानल र तिनका चार समाचार प्रस्तोताविरुद्ध कुल ३४ निर्माता एवम् फिल्म उद्योगसम्बद्ध चारवटा सङ्घहरूले दिल्लीमा उक्त मुद्दा हालेका छन्। प्रतिवादीहरूको प्रतिक्रिया आइसकेको छैन।
उक्त मुद्दा रिपब्लिक टीभी र त्यसका प्रस्तोता अर्णव गोस्वामी र प्रदीप भण्डारी अनि टाइम्स नाउ टीभी र उसका प्रस्तोता राहुल शिवशङ्कर र नविका कुमारविरुद्ध हालिएको छ।
'बलीवुडका सदस्यहरूको निजत्व उल्लङ्घन गरिएको छ। सम्पूर्ण बलीवुडलाई अपराधीको सङ्ज्ञा दिने, सबै दुर्व्यसनी भए जस्तो प्रचार गर्ने र जनमानसमाझ बलीवुडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नु जस्तो गरी व्यवहार गरेर बलीवुडका सदस्यहरूको प्रतिष्ठामा अपूरणीय क्षति पुगेको छ,' मुद्दामा भनिएको छ।
प्रतिक्रिया