कृषकलाई प्राविधिमैत्री बनाउँदै नलगाड

३ बर्ष अगाडि

नलगाड नगरपालिकाले कृषकलाई प्राविधिमैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य शुरु गरिएको छ । 

सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तु बजारीकरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अब कृषकको हातमा आधुनिक उपकरण वितरण गरी कामलाई छिटोछरितो बनाउन लागेको हो । नगरपालिकाले चार वटा हात्ते ट्र्याक्टर, छ थ्रेसर पाइडिल मेशिन, सात वटा मकै छोडाउने मेशिन, ३० कृषकलाई बेमौसमी तरकारीबाली उत्पादन लागि आवश्यक पर्ने कृषि सामग्री उपलब्ध गराउन लागिएको छ ।  

त्यस्तै २० क्विन्टल गहुँको बीउ, ४५ क्विन्टल आलुको बीउ, ६०० कीट तरकारी बीउ वितरण गरिएको नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो । सबै वडामा माटो सुहाउँदो तथा उत्पादन दर हेरेर पकेट क्षेत्र बनाएको नगरले सोहीअनुसार कार्यक्रम सञ्चालन गरेको छ । पकेट क्षेत्रलाई व्यवस्थित गरेर अगाडि बढिरहेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । 

त्यस्तै भेरी नगरपालिकाले २० क्विन्टल गहुँको बीउ ९खाने गहुँ उत्पादनका लागि०, चार क्विन्टल मूल बीउ र चार क्विन्टल प्रमाणित बीउ वितरण गरेको छ । नगरपालिकाले वडा नं ३ को होलु, स्याला र वडा नं ७ को  पुन्मा गहुँको पकेट क्षेत्र तथा वडा १ र १० मा गहुँको  बीउ उत्पादनका लागि पकेट क्षेत्र बनाएर काम गरिरहेको छ । 
 
अन्य बीउ २, ११, १२, ८, ४ वडामा वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरिएको छ । मटेला, कास्तारा, इवर, कालेगाउँ, पिपे, रिसाङ र बोहोरामा तरकारीको बीउ वितरण गरिएको छ । काउली बन्दा, टमाटर, गाजर, रायो, मुला र प्याजको बीउ वितरण गरिएको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिनुभयो । 

भेरी नगरपालिकाले बीउ उत्पादनमा जोड दिएकोसमेत उहाँले बताउनुभयो । विषादी प्रयोग बढी भएको ठाउँमा जैविक मल वितरण गर्न लागिएको छ । जैविक उत्पादनलाई जोड दिने नगरको नीतिअनुसार फलफूल, ओखर सुन्तला र कागती बिरुवा लगाउने अभियानसमेत रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया