‘बाहुबली’ जस्तो सफल फिल्मका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा तानिएको छ । केही दिन अगाडि निर्माण टिमले अभिनेता जूनियर एनटीआरको लुक्स सार्वजनिक गरेको थियो । यसपछि तेलंगाना भाजपा अध्यक्ष बी सञ्जयले निर्देशक राजामौलीलाई हिन्दू भावनामा चोट पुर्याएको भन्दै यसको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।
बी सञ्जयले फिल्ममा कोमाराम भीमको शिरमा टोपी राखेकोमा विरोध गरेका हुन् । उनले भनेका छन्, ‘आदिवासीहरुका भगवान कोमाराम भीमको शिरमा टोपी राख्नु गैरजिम्मेवार हो । हामी राजामौलीको फिल्ममा कोमाराम भीमको शिरमा टोपी राखेकोमा खेद प्रकट गर्दछौं । राजामौलीले देशमा सनसनी फैलाउन कोमाराम भीमको शिरमा टोपी पहिराएका हुन् । यो स्वीकार्य छैन ।’
यो फिल्म भारतका स्वतन्त्रता संग्राम सेनानीहरुको जीवनमा आधारित छ । फिल्ममा जूनियर एनटीआर र राम चरण मुख्य भूमिकामा छन् । डीवीवी दानय्याद्वारा निर्मित तथा राजामौलीद्वारा निर्देशित फिल्मको दुनियाँभरमा एकसाथ दश भारतीय भाषामा रिलिज गरिँदैछ । यो फिल्मबाट बलिउड सुपरस्टार अजय देवगन र अभिनेत्री आलिया भट्टले साउथ फिल्ममा डेब्यू गर्दैछन् ।
प्रतिक्रिया