एकपछि अर्का फिल्मकर्मी कोरोना संक्रमित भइरहेको अवस्थामा अभिनेत्री ऋचा शर्मालाई पनि तीन हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । तीन हप्ता सेल्फ क्वारेन्टिनमा बसेपछि उनले कोरोनालाई जितेकी छन् । गएको मंगलवार गराएको पिसिआर परीक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । उनले फेसबुकमार्फत् आफू कोरोनामुक्त भएको जनाएकी छन् ।
आफूले कोरोना जितेको खुसी साट्दै उनले लेखेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्छ कि पढेर जानिन्छ कि परेर । यस भयावह अवस्थाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएको छु ।’
उनले अगाडि लेखेकी छन्, ‘कोरोनाको बारे हामीलाई अझै स्मपुर्ण ज्ञान नभएको, नयाँ फाइन्डिङहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु । कोरोना जित्न मैले के गरेँ, खानपान, जीवन शैलीबारे छिटै यहाँहरुलाई जानकारी गराउने छु ।’ उनले यो समयमा अग्रपंक्तिमा रहेर काम गर्नेलाई धन्यवाद दिएकी छन् ।
प्रतिक्रिया