अभिषेक भन्छन्, ‘पिताले मलाई कहिल्यै मद्दत गरेनन्’

शुक्रबार, २१ कार्तिक २०७७, २१ : २७

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि बलिउडमा छेडिएको नेपोटिज्मको बहसमा फेरि एकपटक अभिनेता अभिषेक बच्चनले आफ्नो भनाई राखेका छन् । उनले २० वर्ष लामो फिल्म करिअरमा कहिल्यै पिता (अमिताभ बच्चन) ले आफ्नो मद्दत नगरेको खुलासा गरेका छन् । कुनै पनि कलाकारको लामो करिअरमा दर्शकको स्वीकृतिले मद्दत गर्ने उनको भनाई छ । 
 
न्यूज एजेन्सी आईएएनएससँग कुराकानी गर्दै अभिषेकले पिता अमिताभ बच्चनलाई लिएर भनेका छन्, ‘वास्तविकता यो हो कि उहाँ (अमिताभ बच्चन) ले कहिल्यै कसैको फोन समेत उठाउनु भएन । उहाँले मेरो लागि कुनै फिल्म पनि बनाउनुभएन । बरु मैले उहाँका लागि ‘पा’ बनाएँ । भन्नुको मतलब यो हो कि उहाँले कहिल्यै मेरो मद्दत गर्नुभएन । मलाई यसप्रति गुनासो पनि छैन ।’ 
 
उनले आफ्नो मनपर्ने रोलको बारेमा अन्तर्वार्तामा अगाडि भने  ‘जब म फिल्ममा आउने तयारी गरिरहेको थिएँ, तब शाहरुख खानले मलाई भनेका थिए कि सधैं याद राख्नु, तिम्रो मनपर्ने रोल त्यही हुनुपर्छ, जुन त्यसबेला तिमी गरिरहेका हुन्छौं । यदी त्यो तिमीलाई मन परेको छैन भने किन गर्छौं ।’ अभिनेता अभिषेक बच्चन अभिनीत फिल्म ‘लूडो’ १२ नोभेम्बरमा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

शुक्रबार, २१ कार्तिक २०७७, २१ : २७

प्रतिक्रिया