काठमाडौं ,महंगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको सूचीमा स्वस्तिमा खड्का पनि थपिएकी छन् । ‘बुलबुल’ पछि करिअरको उत्कर्षमा पुगेकी उनले ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के। खनालको नयाँ फिल्म ‘चिसो मान्छे’ मा १८ लाख पारिश्रमिक बुझेको स्रोतले बताएको छ । यद्यपि, यसबारेमा निर्माण टिमले जानकारी दिएको छैन । बिहीवार उनले यो फिल्म साइन गरेकी हुन् ।
फिल्ममा स्वस्तिमाको भूमिका शक्तिशाली रहेको बुझिएको छ । कोभिड १९ को महामारी सामान्य भएपछि छायांकन सुरु हुने फिल्मले मानिसहरुमा देखिएको नैराश्यताको कथा भन्नेछ । दीपेन्द्रले लकडाउनकै समयमा यो फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । उनी आफैंले फिल्म खिच्दैछन् । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा हुने बताइएको छ ।
२०७८ साल भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा अभिनेता अर्पण थापाको पनि अभिनय रहने जानकारी प्राप्त छ । तर, यस विषयमा निर्माण टिमले मुख खोलेको छैन । ‘चिसो मान्छे’ मा पछिल्लो समय मानिसहरु कसरी स्वार्थी भइरहेका छन् भन्ने कथा उठान गरिनेछ । निर्देशक खनाल र अभिनेत्री खड्काबीच यसअघि फिल्म ‘लभ लभ लभ’ मा सहकार्य भएको थियो ।
प्रतिक्रिया